बैतडीमा बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन
बैतडीमा ५७ ओटा किशोरीवृतमा आवद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छन्। जिल्लाका विभिन्न स्थानीय तहका वडामा गठन गरिएका किशोरीवृत समूहहरुले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए। किशोरीवृतको पहलमा एकसय बढी बालविवाह रोकिएको उनले बताए। मागेर हुने बालविवाह रोकिएपनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको उनले बताए। बालविवाहले पार्ने असरका बारेमा अहिले स्वयं किशोरीहरुलाई समेत सिकाउने गरिएको र अभिभावकहरुलाई समेत सिकाउने गरेको किशोरीवृतका सहजकर्ताहरुले बताएका छन्। आफूहरुले गाउँगाउँमा गएर अभिभावक र किशोरीहरुलाई बालविवाहले पार्ने असरका बारेमा जानकारी दिन थालेको पञ्चेश्वर गाउँपालिकाका अञ्जु चन्दले बताए। करीब ५ बर्ष अघि गरिएको एक अध्ययन अनुसार बैतडीमा ५९.५ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ। बालविवाहका कारण किशोरीहरुले शिक्षा ग्रहण गर्न नपाउने, विभिन्न स्वास्थ्य समस्याहरु झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किलातारा किशोरीवृत रौलेश्वरका अध्यक्ष द्रोपती बिष्टले बताए। बालक्लब र किशोरीवृतहरुले दिने जानकारीका कारण आफूहरुलाई पनि बालविवाह न्यूनीकरणमा सहयोगमा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।