‘सरकारले सबैको घर अगाडी झाडू लगाउन सक्दैन, सरसफाई हरेकले गर्नुपर्छ’
धनगढी: त्रिवेणी युवा क्लब धनगढीकै पुरानो क्लब मध्येको एउटा क्लब हो। जसले क्रिकेट लगायतका प्रतियोगिता आयोजना गर्ने र अन्य विभिन्न सामाजिक काम गर्ने गथ्र्यो। तर पछिल्लो केही वर्ष यता भने क्लब हराए जस्तै भएको छ। ‘म सानै थिए। अग्रजहरुले विभिन्न काम गरिरहनुहुन्थ्यो। मेरो उमेर समूहका हामी धेरै साथीहरू उनीहरुको काममा रमाउथ्यौ र समाजिक काम गर्नु पर्छ भन्ने लाग्थ्यो’ उनी सम्झिन्छन्।
यहीँ लकडाउनको बीचमा धनगढी पशुपति टोलका प्रेम मल्ल ४ वर्ष युएई बसेर घर फर्किए। उनलाई लाग्यो यति पुरानो क्लब अहिले केही पनि गतिविधि गरिरहेको छैन। आफुले प्रयास गरे भने केही गर्न सकिन्छ कि भन्ने उनलाई लाग्यो। अहिले उनले क्लबकै नाम जोडेर आफ्नो त्रिवेणी टोलमा सरसफाई अभियान चलाएका छन्। त्यस्तै बिरामीहरु जसको आर्थिक अवस्था कमजोर छ र उपचार गर्न सक्ने स्थितिमा छैनन, तिनलाई सहयोग जुटाएर उनी उपचार गराइरहेका छन्।
विश्वव्यापी महामारी कोरोनाको बेला पनि उनले आफुले सक्ने जति, सहयोग उठाउन सकिने जति सहयोग उठाएर कयौं विपन्न परिवारलाई राहत वितरण गरे। उनको बुझाई छ कि समाजप्रति हरेक युवाको जिम्मेवारी छ। उनी भन्छन, ‘हामीले सरसफाई अभियान चलाइरहँदा फोहरको रुपमा खैनी र गुट्खाका खोल भेट्यौ। मध्यपानको यस्ता कुरा प्रतिबन्ध गर्न सरकारले नसक्ला तर सचेत नागरिकले जतापायो त्यतै नफालिदियो भने त फोहोर बढ्ने थिएन।’
फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका कस्तो देख्नुहुन्छ ? भन्नेमा प्रश्नमा उनी भन्छन् ‘सरकारले सबैको घर अगाडी झाडू लगाएर फोहोर व्यवस्थापन गरिदिने होइन। सरसफाई त हरेकले गर्नुपर्छ तर गुट्खा नियन्त्रण गर्न भूमिका खेल्न सक्थ्यो होला। फेरि म आफैलाई पनि लाग्छ यो असम्भव पनि छ कि।’
उनी केवल समाजिक क्रियाकलापमा मात्रै छैनन्, सँगै व्यवसाय पनि गरिरहेका छन्। उनको मल्ल स्टोर एण्ड मार्ट बजारमा छ भने घरनिर पनि पसल छ। व्यवसाय र सामाजिक क्रियाकलाप गर्नको लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘मन भयो भने गर्न सकिने रहेछ। मैले व्यवसाय त्यस्तो रोजेको छु। जसमा केही समय मात्रै दिनुपर्छ। मैले आफ्नो कोटा दुई चार होटेलहरुमा सामग्री पुर्याए र पुरा हुन्छ अनि त समाजिक कामका लागी प्रयाप्त समय बाच्न जान्छ।’
उनलाई यसरी काम गर्नको लागि धनगढीमै काम गरिरहेका राजनीतिक दलमा भएका अर्थात् स्वतन्त्र युवाहरुले उत्प्रेरित गरिरेको छ। ‘सायद तुलना गर्नै मिल्दैन होला तर पनि मैले त देखेको आधारमा भन्ने हो। उताको नागरिकमा मैले फोहोर फाल्नु हुँदैन है भन्ने हुन्छ। जस्तो मैले चक्लेट खाए भने म खोस्टा गोजीमा हाल्छु। र डस्ट्रबिन खोज्न थाल्छु। त्यहाँ गएर फाल्छु’, उनले भने।
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा धनगढी पशुपतिटोलका प्रेम मल्लसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)