सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका बाढीपहिरो पीडितको पीडा: के खाने भन्ने चिन्ता थपियो

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १४, १०:४६ रासस

डोटी: यहाँका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ। काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ। बाढीले के कति क्षति पु¥यायो भन्ने आँकलसम्म गर्न सकिएको छैन।  

पानीले ढुवाएका धान उम्रिन थालेको दिपायल सिलगढी नगरपालिका–४ का किसान सुरज विकले जानकारी दिए। वर्षाले परालसमेत झिजाएकाले गाई, भैँसीलाई समेत उक्त पराल खुवाउन नसकिने अवस्थामा रहेको उनको भनाइ छ। खेतमा भिजेका परालमा समेत ढुसी लागेकाले वस्तुभाउलाई खुवाउन नमिल्ने अवस्थामा भएको शिखर नगरपलिका–२ का रतन कामीले बताए।

उक्त वर्षासँगै बाढी–पहिराका कारण जिल्लामा कम्तीमा पनि एक करोड मूल्य बराबरको कृषिखेतीमा मात्रै क्षति पुगेको कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ। केन्द्रका अनुसार समथर अर्थात् मैदान क्षेत्र रहेका यहाँका कतिपय ठाउँका खेतमा अझै पानी नसुकेको र पानी निकास नहुँदा काटिएका धानसमेत डुबानमै परेका छन्। पाकेर भित्र्याउने अवस्थामा रहेको धानबाली वर्षासँगैको बाढीले नष्ट गरेपछि यस वर्ष जिल्लामा ठूलो भोकमरी हुने जनाउँदै किसान चिन्तित बनेका छन्।

वर्षाले धानलाई झार्नुका साथै बोटसमेत ढालेर बगाएका कारण पशु चौपायालाई समेत के खुवाउने भन्ने चिन्ता थपिएको जोरायल–४ का पदमबहादुर बोहराले बताए। उनले भने, “हामी त मागेर वा केही काम गरी पेट पालौँला, तर पालिएका पशु चौपायालाई हिउँदभरि के खुवाउने अब मङ्सिरबाट हिउँ पर्छ झन समस्या।” बाढी–पहिराले बगाएका यहाँका अधिकांश ठाउँका सडक अझै खुलाउन सकिएको छैन। कतिपय ठाउँमा नयाँ सडक निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएका कारण सडक सञ्चालन गराउनका लागि निकै समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय दिपायल कुलपातेले जनाएको छ।

जिल्ला जोड्ने डा केआइसिंह राजमार्ग केही दिन पहिले सञ्चालन गरिए पनि अन्य नौ स्थानीय तहमा निर्माण भएका शाखा सडक सञ्चालन हुन नसकेका कारण नागरिकलाई आवतजावत गर्नदेखि राहत पु¥याउनका लागि पनि कठिन भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए। उनले भने, “बाढी–पहिराले पानीका मुहान दूषित भएका छन्, अब विभिन्न सरुवा रोग फैलिनसक्ने भएकाले औषधि ढुवानीदेखि खाद्यान्न राहतसम्म पु¥याउन बाटो बनाउन सकिएको छैन, हामी कोसिसमै छौँ।”

जिल्ला विपद् व्यवस्थापन समितिको तत्थ्याङ्कानुसार यसपटकको वर्षासँगैको बाढीपहिराले जिल्लामा करोडौँको धनजन क्षति पु¥याएको छ भने बाढीपहिरामा परी १५ जनाले ज्यान गुमाएका छन्। यसैगरी वर्षात्कै कारण एक बेपत्ता भएका छन् भने सयौँ बढी घरपरिवार विस्थापित भएका छन्। वर्षातकै कारण जिल्लामा चार दिनदेखि विद्युत् तथा फोन सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। समयमै वर्षात् भएका कारण यस वर्ष सुदूरपश्चिममा राम्रो धानखेती हुने अनुमान गरिएको थियो। तर, अहिलेको वर्षाले धानबाली नष्ट गरेका कारण भोकमरी हुने सम्भावना प्रबल रहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए। 

कमेन्ट लोड गर्नुस