काँग्रेसको आडमा कृष्णपुरमा विद्यालयको जग्गा कब्जा गर्न नापजाँच
वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली विद्यालय नजिकै वडा कार्यालय स्थापनाका लागि स्थानीय प्रेम वड र नारद वडले ६ कठ्ठा जग्गा दान गरे। उक्त जग्गामा वडा कार्यालयको भवन निर्माणका लागि डीपीआर तयार पारेर बोलपत्र आह्वान नै भइसकेको छ। तर वडा कार्यालय भवन निर्माण सुरु नहुँदै विवाद सुरु भएको छ।
६ कट्ठा दान गरेकाहरुले १२ कट्ठा जग्गा पाउनुपर्ने भन्दै यतिबेला ८ सय मिटर टाढा रहेको सरस्वती माविको जग्गा कब्जा गर्ने चलखेल नै सुरु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ६ को कृषि सडक नजिकै रहेको सर्खाहमा वडा कार्यालय स्थापना गर्न ६ कट्ठा दान गरेका दाताबाटै मौरीफाँटामा रहेको सरस्वती माविको १२ कट्ठा जग्गा कब्जा गर्न नापजाँच नै गरिएको पाइएको हो।
विद्यालयको जमिन व्यक्तिको नाममा कब्जा गर्न नेपाली काँग्रेस नै सक्रिय देखिएको एक स्थानीयले बताए। वडा कार्यालय स्थापनाका लागि ६ कट्ठा दान गरेका दाताहरुले सरस्वती माविको १२ कट्ठा जग्गा पाउनुपर्ने भन्दै नेपाली काँग्रेसका पूर्ववडा सभापति पुष्पराज भट्टको संयोजकत्वमा संघर्ष समिति नै गठन गरिएको स्थानीयले बताए।
सो समितिमा काँग्रेसका वर्तमान वडा सभापति देवबहादुर वड समेत छन्। निःशुल्क जग्गा दान गरेकाहरुले सरस्वती माविको १२ कट्ठा जग्गा कब्जा गर्न नापजाँच नै गरिएको विद्यालयले जनाएको छ। कानुनविपरीत गएर विद्यालयको जग्गा व्यक्तिको नाममा कब्जा गर्न नेपाली काँग्रेस नै सक्रिय भएर लागेको विद्यालयले जनाएको छ। ‘विद्यालयसँग करिव एक विघा जमिन रहेको छ, त्यसमा १२ कट्ठा व्यक्तिलाई दिनुपर्ने भन्दै चलखेल भइरहेको छ,’ सरस्वती माविका प्रधानाध्यापक मिनबहादुर कठायतले भने, ‘विद्यालयको जमिन कुनै पनि हालतमा व्यक्तिलाई दिने पक्षमा हामी छैनौँ, तर राजनीतिक रुपमै चलखेल भइरहेको छ।’
तर कृष्णपुर नगरपालिको वडा नम्वर ६ का प्रेम र नारद वडले भने ६ कट्ठा दान गरेर सरस्वती माविको १२ कट्ठा जग्गा प्राप्त गर्ने गरी सम्झौता भएको भन्दै विद्यालय नै कब्जा गर्ने गरी राजनीतिक आडमा नापजाँच गर्ने काम भएको जनप्रतिनिधिको गुनासो छ। कही नभएको नियम कृष्णपुरमा लाद्न खोजीएको र कृष्णपुर नगरपालिका वडा नम्बर ६ ले खुलेर प्रतिकार गरेको वडा अध्यक्ष नथुराम चौधरी बताउँछन। ‘कुनै पनि हालतमा वडा कार्यालयको भवन पनि बनाउन नदिने र जग्गा दान गरेका व्यक्तिलाई दोब्बर अर्थात ६ कट्ठाको सट्टा १२ कट्ठा विद्यालयको जग्गा कब्जा गर्न नापजाँच भइरहेको छ, यो विषय हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ उनले भने।
विद्यालयको जमिन कब्जा गर्न पाउनुपर्छ भनेर काँग्रेसकै पदाधिकारी संघर्ष समिति बनाएर लागेको वडा अध्यक्ष चौधरीले बताए। ‘तर कानुन विपरीतको कार्यलाई कुनै पनि हालतमा सहयोग गर्न सकिँदैन,’ उनले भने। यता काँग्रेसका पूर्ववडा सभापति भट्टले भने संघर्ष समिति जग्गा कब्जा गर्नका लागि नभई अनुकुल स्थानमा वडा कार्यालय स्थापना गर्न गठन गरिएको बताए। ‘वडाको बीचमा कार्यालय स्थापना हुनुपर्ने हाम्रो माग हो,’ उनले भने।