नुवाकोटमा कोरोना सक्रिय सङ्क्रमित सय नाघे
त्रिशूली: नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ। पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्रिशूली अस्पतालमा जाँच गराउन पुगेका व्यक्तिबाट सङ्कलन गरिएको स्वाबको नमूना परीक्षणमा ५५ प्रतिशतमा कोरोनाको सङ्क्रमण देखिएको हो।
विदुर नगरपालिकामा हाल ६३ र बेलकोटगढीमा नौ सक्रिय सङ्क्रमित छन्। किस्पाङ र सूर्यगढीमा आठ÷आठ, तारकेश्वर, ताँदी र म्यागङमा चार÷चार तथा लिखुमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका भने कोरोना सङ्क्रमित छैनन्। सङ्क्रमित ११ जनालाई त्रिशूली अस्पतालमा भर्ना गरिएको छ। दश जनालाई स्थानीय तहको आइसोलेसन केन्द्रमा राखिएको छ। बाँकी ८१ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ।