धनगढी चक्रपथमा रहेका विद्युतका पोल सार्न ढिलाई
धनगढी : धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण भईरहेका चक्रपथ अर्थात रिङ रोडमा रहेका विद्युतका पोल सार्न ढिलाई हुदा निर्माणमा समस्या भईरहेको छ। संघीय शहरी विकास कार्यक्रम अन्तर्गत पहिलो चरणमा निर्माण भइरहेको चक्रपथमा पर्ने विद्युतका पोल स्थानान्तरण नगरिदा निर्माण कार्य प्रभावित भएको छ। त्रिनगर भन्सार हुँदै राजपुरसम्मको चक्रपथमा निर्माण कार्य जारी राखिएका बेला विद्युतका पोल सार्ने बिषयमा कुनै पहल भएको छैन्। सम्बन्धित निकाय भने एक अर्कालाई दोषी देखाउँदै पन्छीरहेका छन्। जसका कारण ९ किलोमिटरको चक्रपथ निर्माणको काम भईरहेपनि सडकमा पर्ने विद्युतका पोल सार्न ढिलाई भईरहेकाले कालोपत्रेको काम धकेलिने संकेत देखीएको छ।
सघन शहरी विकास कार्यक्रमलाई संघीय शहरी विकास कार्यान्वयन एकाईले कार्यान्वयन गर्दै आएको छ। विद्युतको पोललाई पनि शहरी विकास कार्यक्रम र विद्युत प्राधिकरणको सम्वनयमा निर्माण कम्पनीले सानुपर्ने हुन्छ। तीन वटै पक्ष एकले अर्काेलाई दोष दिएर विद्युतका पोल सार्नमा ढिलाई गर्न थालेपछि स्थानीय चक्रपथ निर्माणमा ढिलाई हुने भन्दै चिन्तीत बनेका छन। स्थानीय नवराज गौतमले बाटोमा विद्युतका पोलले सडक निर्माणमा समस्या भईरहेको बताए।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत भन्सार–चटकपुर हुँदै राजपुर सम्मको चक्रपथ निर्माणका लागि ३३ करोड ८२ लाखमा लुम्वनी राजेन्द्र केसी जेभीले ठेक्का पाएको छ। निर्माण कम्पनीले कालोपत्रेका लागि तयारी थालेको छ। तर सडक क्षेत्रमा रहेका विद्युतका पोल भने सार्ने काममा कसैले ध्यान दिएका छैनन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले ठेक्दार र आयोजना कार्यान्वयन एकाई कार्यालयलाई पटक–पटक पोल सार्न भनेको बताए। चक्रपथको दोस्रो प्याकेजको मनेहराको कमैया वस्ती डी–गाउँ हुँदै सिद्धार्थ स्कुलको चत्रपथको निर्माणको काम सुरु नभईरहेको अवस्थामा मनेहराको कालिका मन्दीर जाली हुँदै हुलाकी सडक खण्डको तेस्रो प्याकेजको काम भने भईरहेको छ।