अब थाइल्याण्ड र खाडी मुलुक घुम्न नेपालीलाई २५० डलरले नै पुग्ने
काठमाडौंः पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ। सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ। युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जाने व्यक्तिको हकमा चाहिं पहिले झैं ५ सय डलर न्यूनतम विदेशी मुद्रा सटही गरेको हुनुपर्ने भनिएको छ। कार्यविधिको दफा ३।१ को उपदफा ९२० मा ९घ १० थप्दै विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्न सकिने भनिएको छ। तर सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने भनिएको छ।