‘सबै क्षेत्रलाई राजनीतिको अखडा बनाउदै छाैँ, त्यस्तो नगरौं’
धनगढी : फूलबारी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष रमेशकुमार बस्नेतसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
सामूहिक क्रियाकलापहरुको व्यस्तता कस्तो छ ?
म भर्खरै फूलबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएको छु। सामुदायिक क्याम्पस भएकोले जनस्तरमा त्यसलाई कसरी स्थापित गर्ने र फूलबारी बहुमुखी क्याम्पसको उन्नति र विकासका लागि के गर्न सकिन्छ भनेर समाजिक व्यक्तित्व र व्यावसायिक व्यक्तित्वहरु, शैक्षिक व्यक्तित्वहरु र राजनीतिक व्यक्तित्वहरुसँग छलफलमा छु।
तपाईंको आफ्नो व्यक्तित्वको विषयमा जानकारी गराइदिनुस न ?
मानिसको जीवनमा सफल असफल, राम्रा नराम्रा हरेक किसिमका उतारचढाव रहने गर्छन्। पक्कै पनि मेरो जीवन यसबाट अपवाद रहने कुरा भएन। यस्तै उतारचढाव मेरो जीवनमा पनि छन्। जन्म मेरो ताप्लेजुङमा भएको थियो भने विस २०४० मा बसाईसराइको क्रममा कैलाली फुलबारीमा आएको थिए। एसएलसी मैले फुलबारी माविबाट गरेको हँ भने प्रविणता तह र स्नातक तह मैले कैलाली बहुमुखीबाट गरेको हुँ। स्कुलदेखि नै मलाई समाजिक कार्यमा रुचि थियो र म सरिक पनि हुन्थे। तर स्नातक तह पढ्दै गर्दा सशस्त्र जनआन्दोलन उत्कर्षमा थियो।
त्यो समयमा मान्छेहरुले राज्यले चौधरी भएकै भरमा माओवादी देख्ने। र बिद्रोही पक्षले सेना प्रहरीमा भएकाहरुलाई सेनाप्रहरीमा भएकै आधारमा राज्यको सुराकी देख्ने। यसरी अनाहकमा मानिसहरू मरिरहेको। मृत्युको मुखमा परिरहेको देख्दा भित्रदेखि नै मेरो मन पोल्थ्यो। त्यसरी समाजमा यस्ता क्रियाकलाप हुँनुहुँदैन भन्ने लाग्यो। मानव अधिकारको क्षेत्रमा र समाजिक न्यायको क्षेत्रमा काम गर्नको लागि २०६० सालमा सर्बाङ्गण विकास केन्द्र स्थापन सरोकारवाला हरेक निकायकासँग छलफल अन्तरक्रिया गरेर मानवअधिकारका आधारभूत अधिकार तथा विश्व मानवअधिकारको घोषणा पत्रको बारेमा बिद्रोही पक्षसँग पनि पालनाको लागि आह्वान गथ्र्यौं।
त्यस्तै छलफल भेट्घाट गरेर मृत्युको मुखमा पुगेका मान्छेहरु बचाउथ्यौँ। व्यक्तिगत रुपमा उठेका विवाद समाधान गरेर अरु क्षति हुन दिदैन थियौं। भने, राज्यले पनि परिवारको कुनै सदस्य माओवादीमा लागेकै भरमा सबै परिवारका सदस्यलाई माओवादी देख्ने र कैलाली, कञ्चनपुर क्षेत्रमा त थारु र चौधरी समुदायका सबैलाई माओवादी देख्ने राज्यको प्रवृत्ति थियो। यस्तो अवस्थामा पनि राज्यका सम्पूर्ण निकाय, प्रहरी प्रशासन आदिसँग छलफल गरेर संवेदनसिल हुन दबाब र जागरण गथ्र्यौं।
म यो क्षेत्रमा किन लागे त भन्दा सामाज सेवाको एउटा छुट्टै दर्शन छ। निस्वार्थ रुपमा स्वयंसेवी भावले लाग्नुपर्छ भन्ने। त्यस्तै मेरा हजुरआमा हजुरबुवाले भनेका केही कुरा अनुसरण गरे। उहाँहरु सुनाउनु हुन्थ्यो। घरमा पाउना न आउदासम्म लक्ष्मीको बास हुँदैन रे। यस्तो परम्परा र संस्कारबाट हुर्केका हौं। समाजमा कुनै बाटोघाटो बनाउन एकजनाले पहल गरेर आह्वान गर्दा सबैले गएर काम गरेर बनाइथ्यो। अहिले त्यस्तो स्थिति छैन।
विगत र पछिल्लो समयको शिक्षामा कस्तो फरक पाउनुहुन्छ ?
हाम्रो शिक्षा परम्परागत खालको शिक्षा भयो। हुन त सरकारको नीति पनि प्राविधिक शिक्षामा जोड गर्ने भन्ने छ। तर हामी सबैले भनौंन अहिलेको समय सापेक्षरुपमा प्राविधिक शिक्षाको विकास गर्न सकेनौं। यसै कारणले समाजमा दक्ष जनशक्ति निर्माण हुन सकेन। सामुदायिक क्याम्पसहरुकै सवालमा पनि सम्बन्धन दिने सकियो। ल ठिक छ समुदायको पहलमा नै विद्यालय सञ्चालन भएको हो तर त्यहाँका कर्मचारीको वृद्धि विकास खै ? भोको पेटबाट तपाईं के आश गर्नुहुन्छ ?
अहिले त कोभिडको कारणले धेरै विद्यालयको स्थिति बिग्रेको छ तर सामुदायिक क्याम्पसको सवालमा त स्थानीय, प्रदेश र संघीय कुनै पनि सरकाहरुको स्पष्ट नीति नै नरहेछ। अन्तराष्ट्रिय प्रयास हेर्ने हो र नीतिहरु अध्ययन गर्ने हो भने उनीहरुकोमा चाहिँ शिक्षा अवसर र उच्च शिक्षाको पहुँच पुर्याउने, उच्च शिक्षाको स्थानीयकरण र यसको प्रजातान्त्रिक करण गर्नको लागि सामुदायिक क्याम्पस स्थापना भएका रहेछन्। धेरै ठाउँमा त कस्तो किसिमको जनशक्ति निर्माण गर्ने ? कस्तो प्रतिभालाई उजागर गर्ने भन्ने हुँदोरहेछ। तर हाम्रोमा त विश्वविद्यालयबाट सम्बन्धन लियो एक दुई वर्ष बढो उर्जाका साथ चलायो र एकदुई वर्षपछि त समाजले पनि न हेर्या हो कि ?
समाजलाई सञ्चालक समितिका मान्छेले बुझाउन नसक्या पो हुन् कि सहि तवरले चल्न नसक्ने स्थितिमा धेरै क्याम्पस पुगेका छन्। मैले भन्न खोजेको के हुँ भने सबै क्षेत्रलाई राजनीतिको अखाडा बनाउदै छाैँ। यस्तो नगरौं। शिक्षामा त यसलाई कम गरौं। राजनीतिक कारणले नै धेरै ठाउँमा भर्ना निवेदन खोलेर पनि छनोट नहुनसक्ने स्थिति छ। जनप्रतिनिधिहरु यसमा अगाडि आए भने त उहाँहरुबाट अरु के आशा राख्ने त ?
फुलबारी क्याम्पसको लागि अबको योजना के छ ?
पहिलो सञ्चालक समितिको बैठकबाट हामीले त्यहाँका राजनीतिक, सामाजिक र त्यहाँबाट प्रतिनिधित्व गर्ने माननिय ज्यूहरुको उपस्थितमा हाम्रा एजेन्डा सामुदायमा नै लगेर अनुमोदन गर्ने अभ्यास गर्याै। क्याम्पस सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा बसेर पनि नीतिगत निर्णय गर्न सकिन्थ्यो। तर पनि समुदायलाई नै पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने र स्रोतसाधन परिचालन गर्ने सधै प्रयास रहन्छ। अहिले पनि विभिन्न सामाजिक, राजनीतिक बौद्धिक व्यक्तित्वहरुसँग छलफल भेटघाट गरिरहेको छु। हाम्रो क्याम्पसको १० वर्षे रणनीतिक योजना बनाउदै छौँ।