सात दिनको तलब विपद् कोषमा जम्मा गरिने
दार्चुला: दुहुँ गाउँपालिकाले दुहुँ बाढीपीडित पुनःस्थापनाका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सात दिन बराबरको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ। दुहुँ गाउँ कार्यपालिका बैठकले भदौ १३ गते आएको बाढीपहिरो पीडितको पुनःस्थापनाका लागि रकम जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले पालिकामा रहेका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सात दिन बराबरको तलब गाउँपालिकाले खोलेको विपद् कोषमा राख्ने निर्णय भएको गाउँपालिका प्रवक्ता गोविन्द डडालले जानकारी दिए।
बाढपिहिरोका कारण १०० भन्दा बढी घरधुरी विस्थापित भएका छन्। दुहुँका पाँच बस्ती पुनःनिर्माण गर्नुपर्ने भएको छ। अर्बौैँ बराबरको सम्पत्ति क्षति भएको छ। पूरै बस्ती पुनःस्थापना गर्न अहिले गाउँपालिकाले सहयोगसमेत सङ्कलन गरिरहेको छ।
बैठकले गाउँपालिकालाई पुनःर्निमाण र पुनःस्थापना गर्न विशेष गाउँपालिका घोषणा गर्न प्रदेश तथा सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता डडालले जानकारी दिए। बाढीबाट क्षतविक्षत भएका सार्वजनिक संरचना पुनःनिर्माणका लागि प्रदेश तथा सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ।