बैतडीको फलाम खानी उत्खनन् गर्नुपर्ने माग
धनगढी: बैतडीको पुर्चौडी नगरपालिकामा रहेको फलाम खानी उत्खनन् गर्नुपर्ने माग गरिएको छ। पुर्चौडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेको फलाम खानी उत्खनन् गर्न सरकारको ध्यान जानुपर्ने स्थानीयले बताएका छन्।
उक्त क्षेत्रबाट राणाकालमै फलाम(धाउ) निकाली प्रशोधन गरेर पुर्चौडीका स्थानीयले बैतडी, बझाङ, दार्चुला तथा भारतको पिथौरागढसम्म गएर फलामबाट बनाइएका औजार तथा भाडावर्तन बिक्री गर्ने गरेको वडा नम्बर ७ मा अध्यक्ष रामबहादुर ऐरले बताए। तर उक्त कार्य विगत ४० वर्षदेखि रोकिएको उनले बताए। ‘हाम्रो गाउँमा रहेको काल्धामी क्षेत्रमा फलामको धाउ निकाल्दा बनेका सुरुङहरु प्रसस्त छन्। यहाँको धाउमा फलामको मात्रा पनि अधिक रहेको खानी विभागको अध्ययनबाट पत्ता लागेको थियो, ’ उनले भने, ‘तीन वर्ष अगाडि खानी सर्वेक्षण गर्ने एक टोली पनि आएको थियो। त्यो टोलीले गरेको अध्ययनको निष्कर्ष भने हामीलाई थाहा दिइएको छैन।’
पुर्चौडी क्षेत्रमा फलामसहित चुनढुङ्गाको समेत खानी प्रशस्त रहेको नेकपा माओवादी केन्द्रका नेता समेत रहेका कृष्णप्रसाद बडू बताउँछन्। उनले केन्द्र या प्रदेश सरकारले खानीबाट उत्पादन गर्न सकिने खनिजको विस्तृत अध्ययन गरेर खानी सञ्चालनका लागि सरकारसँग पटकपटक माग गरिएको बताए। ‘सरकाले समृद्धि हासिल गर्न खानी उत्खनन् गर्न सके स्थानीय जनताले लाभ लिन सक्थे,’ उनले भने, ‘हामीले पनि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग फलाम खानी सञ्चालनको सम्भावना अध्ययन गर्न अनुरोध गरेका छौँ।’
पुर्चौडी क्षेत्रमा सदियौ अगाडिदेखि फलाम उत्खनन् र प्रशोधन गरिने गरेको बताइन्छ। फलाम उत्खनन् गरेर प्रशोधन गरेका थुप्रै ठाउँमा अहिले पनि फलामको किट देख्न सकिने कांग्रेस नेता प्रोहित बडू बताउँछन्। ‘पुर्चौडीमा धेरैजसो गाउँमा फलाम प्रशोधन गरिएको प्रमाणहरु भेटिएका छन्। यहाँ फालमबाट हतियार तथा खाना पकाउने वर्तन बनाउन सक्ने कालीगढ अहिले पनि छन्,’ उनले भने, ‘अब उत्खनन् गर्न सरकारसँग यहाँका स्थानीयको माग छ। सरकाले यथाशीघ्र खानी अध्ययन र उत्खननकाे पहल गर्नुपर्छ।’
बैतडीको पुर्चौडीमा फलाम, चुन, खरी ढुङ्गा, स्लेट तथा तामा खानी रहेको बताइने गरिन्छ। तर अध्ययन तथा उत्खननकाे अभावमा सम्भावनाका कुरा केवल बहस तथा नेताहरुका भाषणमा मात्रै सिमित रहेको पुर्चौडीबासीले गुनासो गर्दै आएका छन्।