‘अर्थमन्त्रीको एक फोनले सेयर बढ्छ ?’
काठमाडौंः लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक (नेप्से) अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन्। राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ ? भनेर सुवालले प्रश्न गरेका छन्।
‘यो हुनु भनेको सरासर आर्थिक चलखेल हो, यसको छानविन हुनुपर्छ’ सुवालले सभामुख मार्फत सरकारसँग माग गरेका छन्। अर्थमन्त्रीले पहिले १०० जनाले पूर्ण सेयर बजार चलाएको भनेर हौवा फैलाएको र पछि मौद्रिक नीति मार्फत ३७ लाख प्रत्यक्ष लगानीकर्ता रहेको सेयर बजारमाथि प्रहार गरेको आरोप लगाए।
यसको जवाफमा अर्थमन्त्री शर्माले आफूले फोन गरेर सेयर नबढेको बताए। यसबारेमा कतै समाचार आएको छ भने त्यसमा सत्यता नरहेको उनको दावी छ।