तिज, काँक्रा र साथीहरु
सानोमा गाउँमा छँदा तिज आउने भनेपछि हामी केटाहरु हुरुक्कै हुने गर्दथ्यौ। हाम्रै उमेरका केटीहरु पनि निकै खुसी भएर तिजको व्रत बस्ने गर्दथे। उनीहरुले मनमनै राम्रो पतिको चाहना गरेरै तिजको व्रत बस्थे होला। ‘तिमीहरु किन तीजको व्रत बस्छौ’ भनेर नसोधे पनि तिजको व्रत अविवाहित महिलाले असल पति र विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गरेर बस्ने गर्छन् भन्ने थाहा हामीलाई थियो।
तिज कुन महिनामा पर्छ भन्ने कुरा हामी नयाँ क्यालेण्डर या नयाँ पञ्चाङ्ग आउने वित्तिकै हेर्ने गर्दथ्यौँ। आफ्नो राशीफल पढेपछि तीज कुन महिना पर्दैछ भनेर हेर्ने गरिन्थ्यो। साउन या भदौ जुन महिनामा परेपनि त्यो बेला गाउँका बारीमा काँक्रा फल्छन् कि फल्दैनन् होला भनेर सोच्ने गर्दथ्यौँ। यदि तिज परेको समयमा काँक्रा फलेनन् भने हाम्रो रमाइलो अर्को वर्षसम्मका लागि थाति रहने चिन्ता हामीलाई हुने गर्दथ्यो।
गाउँमा तिज बनाउने अग्र्यानिक परम्परा थियो। गाउँका महिला आमा तथा दिदीबहिनीहरु दर खानुभन्दा पनि व्रत बस्नु र दैनिक घरायसी कामलाई नै महत्वपूर्ण काम ठान्दथे। तिजको व्रत तीन दिनसम्म लगातार बस्नुपर्दा भोक कसरी सहन्थे होला गाउँका आमा दिदीबहिनीहरु ?
घाँस काट्नु, चुलोचौका गर्नु, पूजा सामग्री तयार गर्नु, दिनभर काम गर्दा पसिना पसिना हुनु तर व्रत बस्ने भनेर पानीसम्म नपिउनुले व्रतको लागि महिलाहरु कठोर भएको प्रमाण दिन्थ्यो। गाउँमा बस्नेहरुका गोठमा कम्तीमा पनि आधा दर्जन चौपाया हुने, आधा दर्जन बालबच्चा हुने अनि ती सबैको खानाको व्यवस्थापन ठीक समयमा गर्नैपर्ने बाध्यताले महिलाहरुलाई तिजमा माइत जान पनि दिदैनथ्यो। न त व्रत बसेको भनेर आराम नै गर्ने सुविधा पाइन्थ्यो। तर पनि हाँसीहाँसी भोकै बसेर सबै घरको काम सिध्याएर साँझ अबेर तिजको पूजा गर्ने भनेर ती सबै देउघरमा जम्मा हुने गर्दथे। व्रत बसेर दिनभरको कामले पनि व्रतालु आमाहरु र दिदीबहिनीहरुको मुखको आभा काम भएको हुँदैनथ्यो। शिव र पार्वतीको भक्तिमा अचम्मको शक्ति रहेको प्रमाण सायद त्यहि पो थियो कि ?
गाउँमा तिजको व्रत बसेर कोही मुर्छा परेको हामीले सुनेनौँ। हाम्रो मात्रै होइन वरपरको गाउँमा पनि तिजको व्रत बसेर कोही बिरामी परे भन्ने सुनिएन। गर्भवती तथा स्तनपान गराउने महिलाले तिजको मात्रै होइन अन्य व्रत पनि बस्नुपर्छ भन्ने चलन थिएन। अहिलेपनि छैन। त्यसैले तिजको व्रत बस्नेले विरामी हुनुपरेको मलाई थाहा छैन।
गाउँघरमा तिजको लागि भनेर सुन तथा गरगहना अनि कपडा किन्नैपर्ने भन्ने चलन थिएन। अहिले पनि छैन। तर तिजमा पूजा गर्दा लगाउने भनेर एक ब्लाउज, पेटीकोट तथा एउटा धोती जुनसुकै समयमा किनेर राखेका हुन्थे। पूजा गर्दा मात्रै लगाएको त्यो कपडा वर्षभरी गरिने अन्य पूजामा पनि लगाउने गरेको मैले देखेको छु।
तिजका तीन दिन गाउँका महिलाहरुले अन्य दिनहरुमा झै घरको सबै काम गर्थे। त्यसो गर्नुमा आमाहरुले कुनै झर्को मान्दैनथे। तिजको पूजा सक्न निकै समय लाग्ने गर्दथ्यो। पण्डित समयमा आउन सक्दैनथे। कहिलेकाँही त पूजा राति एघार बाह्र बजे सुरु गर्दथे। राति दुई–तीन बजे पूजा सकिन्थ्यो। एकछिन सुतेर विहान उठेपछि गणेशको पूजा गरेर विहान १० बजेपछि व्रतालुहरुले एक छाक खाना खान्थे। अर्को दिन ऋषिपञ्चमीको व्रत बस्नुपर्ने भएर चौथीको साँझ खाना खादैनथे। अहिले पनि यहीँ नियम चलिरहेको छ।
यो भयो मैले देखेको तिजको कुरा। अब तिज सँग काँक्रा र साथीहरुको सम्बन्ध के थियो भनेर चर्चा गर्नेछु। तिज भनेपछि म लगायत मेरा केटा साथीहरु हुरुक्क हुने कारण यस्तो थियो। तिज साउनको अन्ततिर या भदौमा पर्ने, त्यो समय भनेको गाउँमा काँक्रा फल्ने समय। साउनमै तिज पर्यो भने फाट्टफुट्ट मात्रै बारीमा काँक्रा फलेका हुन्थे। हामीहरुलाई काँक्रा खान औधि रहर लाग्न।े गाउँमा जसको बारीमा काँक्रा फलेका छन्, तिनले काँक्रा खान त के हेर्नसम्म नदिने।
काँक्रा लगाएको ठाक्रोमा फलेको काँक्रा देखिन्छ भनेर पातले लुकाएर राख्ने। यो दृश्य हामी केटाहरु हेरिरहेका हुन्थ्यौँ। कसको बारीमा कति काँक्रा फलेको छ त्यसको हिसावकिताव हामीले तयार गरेर राखेका हुन्थ्यौँ। तिज कहिले आउँला र काँक्राको ठाक्रोमा छापा हान्न पाइएला भनेर हामी दिन गन्दै तिजको व्यग्र प्रतिक्षामा हुने गर्दथ्यौँ।
जब तिज आउथ्यो, आमा दिदीबहिनीहरु व्रत बसेका हुन्थे। उहाँहरु पूजामा भएको समयमा हामी गाउँका बारीमा काँक्रा व्यवस्थापनमा होमिएका हुन्थ्यो। काँक्रा चोर्न तिजको दिन पर्खनुको पनि कारण छ। त्यो दिन गाउँमा मान्छे बिउझिएकै छन् भनेर हामी तीजको दिन भूतको डर मान्दैनथ्यौँ। गाउँमा जो धेरै लोभ छन् तिनका बारीबाट हामी खोजीखोजी काँक्रा चोर्ने गर्दथ्यौँ। अनि अर्को कुरा तिजमा हामीले काँक्रा चोरेको घरमा पनि थाहा हुँदैनथ्यो। अनि चोरेको काँक्रा व्यवस्थापन गर्न पनि सजिलो हुन्थ्यो। त्यो कसरी भने; एकजना साथीको घर गाउँदेखि पर थियो। उसको घरमा तिजको दिन उ एक्लो हुन्थ्यो। त्यसैले हामीहरु तिजको दिन त्यो साथीको घरमा जम्मा हुन्थ्यौं। चार–पाँच जनाको मिल्ने समूहले मात्रै यो अवसर पाउँथे।
साथीको घरमा तिजको दिन सधैं खीर पाक्थ्यो। उसको आमा र भाउजु आफ्नो गाउँमा तिजको पूजा गर्न जाने भएकाले घरमा त्यो दिन बस्ने हामीहरुलाई यो एक किसिमको घुस जस्तै थियो। तर पनि हामी खीर खाएर गाउँका सबैजसो बारी चाहाथ्र्यौ। अध्यारोमा काँक्रा टिप्न खोज्दा काँडाले घोच्न पुग्थे भने कयौं पटक चिप्लेर सामान्य चोटपटक लाग्ने गर्दथ्यो।
तिजको राति काँक्रा चोर्न सजिलो किन थियो भने तीन दिनसम्म व्रत बस्नुपर्ने भएकोले महिलाहरु बारीमा कलि कम जान्थे। काँक्रा चोरेको पत्ता लागे पनि व्रत बसेका कारण गाली गर्न जस्तो हुँदैनथ्यो। अनि त्यो दिन काँक्रा चोर्न आफ्नै छोराको पनि संलग्नता रहेको हुन सक्थ्यो। यी सबै कारणले तिजमा काँक्रा चोर्न हामीलाई सजिलो हुन्थ्यो।
यसरी तिजमा काँक्रा चोर्ने, साथीको घर कुरेको नाममा खीर खाने र मध्यरातसम्म गाउँ डुल्ने क्रम एसएलसी पास नहुँदासम्म जारी रह्यो। त्यसपछि भने गाउँमा काँक्रा चोर्ने अर्को पुस्ताको उदय भइसकेको थियो। अहिले पनि हरेक वर्ष तीज, काँक्रा र गाउँका साथीहरुको सम्झना एकसाथ आउने गरेको छ।