राम सुन्दरको साईकल मोह
सन्तोष रोकाया
सबैका आ–आफ्नै इच्छा र आकांक्षा हुन्छन्। कसैका ईच्छा फुल्छन्, फल्छन र फक्रन्छन् त कतिपयका ईच्छा ईच्छामै सिमित रहन्छन्। यस्तै एक इच्छा बाकेका व्यक्ति हुन् रामसुन्दर चौधरी। सानै देखि साईकल बनाउन रुचि राख्ने रामसुन्दर एकान्त मन पराउँछन्। कैलालीको कैलारी गाउँपालिका ९ कोईलही गाउँमा पर्ने कतरी ताल नजिकै एक्लो घर छ। घरको आँगनमै ताल। ताल वरिपरी जंगल। दृश्य मनमोहक छ। त्यही मनमोहक दृश्यसँगै काममा व्यस्त देखिन्छन् रामसुन्दर र उनकी श्रीमती विपना।
सरल, सालीन र भद्र स्वभावका देखिने रामसुन्दर अहिले ३४ वर्षका भए। एउटा भनाईलाई जोड दिन्छन् उनी– “जहाँ इच्छा त्यहाँ उपाए।” सानैदेखि मिहेनत गर्न रुचाउने उनले वि.स. २०५७ सालमा एउटा सानो साईकल पसल राखे। त्यतिखेर उनि १८ वर्षका थिए। साईकल ब्यावसाय गरेको २ वर्ष पछि उनले विवाह गर्ने योजना बनाए। त्यस सँगै २०५९ सालमा उनि बिपनासँग बैवाहिक बन्धनमा बाँधिए। रामसुन्दर चौधरीका ४ दाजुभाई छन्। उनी माईला हुन्। तीन वटा दाजुभाई लेवरिङ्ग काम गर्छन् तर उनलाई भने केही पृथक काम गर्ने सोच पलायो। उनि भन्छन्–“वैवाहिक जीवनसँगै केही जिम्मेवारी थपेको महसुस भयो। २०६० सालमा काम खोज्न राजधानी काठमाडौं लागेँ।” उनले काठमाडौंमै बसेर प्रिटिङ्गको काम सिके। टिसर्टमा प्रिटिङ्ग गर्दै उनको दैनिकी बित्थ्यो। करिब ६-७ वर्षको सिकाईको अनुभव बोकेर उनी आफ्नै गाउँ–ठाउँ कैलाली कोइलही आए। आफुले सिकेको सिप आफ्नै ठाउँमा प्रयोग गर्ने मानसिकताले घर फर्केको उनी बताउँछन्।
साईकल बनाउनु उनको रुचिको विषय थियो। तर घरको आर्थिक अवस्थाको कारण त्यो काम पुरा गर्न सकेनन् रामसुन्दरले। अब साईकल सम्बन्धी नै अर्को नयाँ र पृथक काम सोचे, झब्बा बनाउने।
उनी दावी गर्छन्– सुदूरपश्चिममा पहिले म मात्र थिएँ झब्बा बनाउने। अहिले कैलालीमा अर्को एक जनाले पनि गर्छन भन्ने सुनेको छु। कैलाली र कञ्चनपुरका बिभिन्न ठाउँमा आफ्नो बजार बिस्तार भईसकेको उनी बताउँछन्। यो व्यवसाय गर्न थालेको उनलाई ८ वर्ष भयो। सुरुमा प्रति पिस ३ रुपैयाँमा बिक्री गर्ने उनी अहिले १० रुपैयाँमा बिक्री गरिरहेका छन्। अहिले कामको अनुभव र ग्राहकको प्रतिक्रिया सँगै भारतका चम्किला झब्बाहरु भन्दा आफुले राम्रो काम गर्दै आएको उनी दावी गर्छन। अहिलेसम्म घरायसी सामानहरुले झब्बा बनाए पनि अब केही मेसिन ल्याउने तयारीमा रामसुन्दर छन्। झब्बाबाट मासिक १०-१५ हजार कमाउने गरेको बताउने उनी गएको बैशाखदेखि असोजसम्मको अवधिमा १ लाख रुपैयाँ कमाई सकेको बताउँछन्।
रामसुन्दर झब्बा सँग–सँगै माछा व्यवसाय पनि गर्दै आएका छन्। बिगत ७ वर्षदेखि कतरी ताललाई भाडामा लिएर उनी माछा व्यवसाय गर्दै आएका हुन्।