सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपिएलमा सहभागी हुने १० टोलीको नाम सार्वजनिक

२०७८ भदौ १८, ०६:४९ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा आगामी माघ अन्तिम सातादेखि हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौं संस्करणमा सहभागी टोलीहरुको नाम सार्वजनिक गरिएको छ। 

लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा आयोजना हुदैं आएको प्रतियोगिताको छैठौँ संस्करणमा सहभागी १० वटा विद्यालयको टोलीको नाम प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो। 

विद्यालयको टोलीमा ९ जना राष्ट्रिय टीमका १९ वर्षका खेलाडीहरु समावेश गर्न पाउने प्रतियोगितामा सुदूरपश्चिमका अधिकांश टीमहरु रहेका छन्। प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी, कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङलिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलालीले सहभागीता जनाउनेछन्।

त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कंचनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौले सहभागीता जनाउने आयोजकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। 

नेपाली क्रिकेटको भविष्य बलियो बनाउनका लागि आयोजना गर्न लागिएको विद्यालय स्तरको राष्ट्रिय क्रिकेट लिगमा देशभरका १० वटा विद्यालयले सहभागिता जनाउने छन्। अघिल्लो संस्करणमा १६ वटा टीमहरु सहभागी हुदै आएकोमा अबको संस्करणमा १० टीम मात्रै सहभागी गराईने लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।

‘अघिल्लो संस्करणसम्म १६ वटा टीमलाई चार समुहमा विभाजन गरेर प्रतियोगिता खेलाईरहेका थियौं। अबको संस्करणमा १० टीमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गर्छौ।’ अध्यक्ष शाहीले भने–‘सहभागी टीम र खेलाडीहरुले बढीभन्दा बढी खेल खेल्न पाउन र आफ्नो प्रतिभा देखाउन पाउन भनेर यसपाली खेल तालिकालाई परिवर्तन गरेर सञ्चालनको तयारी गरेका हौं।’ 

धनगढी स्थित संघीय प्रहरी एकाई कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेता र उपविजेतालाई दिईने पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन्। पुरस्कार राशी पनि चाँडै घोषणा  गरिने अध्यक्ष शाहीले बताए। कोरोना कहरका विच अघिल्लो बर्ष आयोजना गरिएको पाचौं संस्करणको विजेताले एक लाख र उप–विजेताले ५० हजार नगद पाएका थिए।

छैठौं संस्करणको उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडी नगद १०–१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। पाचौं संस्करणको उपाधि काठमाण्डौंको हिमालयन ह्वाईट हाउसले जितेको थियो।
 

कमेन्ट लोड गर्नुस