१ हजार ७ सय ५६ मा सङ्क्रमण, २३ को निधन
काठमाडौँ: देशभर आज एक हजार ७५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टामा १४ हजार ३३४ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार छ पुगेको छ।
२,२७४ सङ्क्रमण मुक्त
आज दुई हजार २७४ जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सात लाख २३ हजार ४५६ जना सङ्क्रमण मुक्त भएका छन्। बिहीबारको तुलनामा निको हुने दर आज पनि बढेको छ। लगातार दुई दिनदेखि सङ्क्रमण मुक्त हुने दर बढेको छ। बुधबार ९४।१ प्रतिशत र बिहीबार ९४।२ प्रतिशत सङ्क्रमण मुक्त हुने दर रहेकामा आज ९४।३ प्रतिशत पुगेको छ।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २३ जनाको ज्यान गएको छ। हालसम्म १० हजार ८०९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति १० लाखमा ३६४।३ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ।
त्यस्तै ५४० सघन उपचारकक्ष आइसीयू, १५६ भेन्टिलेटर, ३० हजार ६६२ होमआइसोलेशन, दुई हजार ३४४ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा छन्। नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ वटा छन् । आज एक लाख ६४ हजार ३०२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।