सुदूर नेपाललाई विश्वसँग जोड्दै

दल र नेताका भक्तलाई हनुमान होइन ‘दुश्शासन’ भनौं

२०७८ भदौ १३, ११:४६ नारायण अवस्थी

नेपालमा राजनीतिक दल तथा नेताको पिठ्यू या अन्धसमर्थकलाई हनुमानको संज्ञा दिने गरिन्छ। जसरी सही र गलतको ख्यालै नगरी केवल स्वार्थले पे्ररित भएर कुनै अमुक दल र नेताको समर्थन गर्नमा, विपक्षीलाई तथानाम गाली गर्ने पात्रलाई लक्षित गरेर हनुमानको उपमा दिने गरिन्छ। यसरी पौराणिक पात्र हनुमानको निष्ठा, गरिमा, त्याग तथा आदर्शकै अवमूल्यन हुने गरेको छ। हनुमान रामायणका यस्ता पात्र हुन् जसले अष्ट सिद्धि र नव निधि प्राप्त गरेका थिए। अनि जो सर्वज्ञानी तथा सम्पूर्ण इन्द्रियलाई जितेका परम् रामभक्त थिए।

को हुन् हनुमान ?
वायुदेव तथा अन्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको पुराणहरुमा उल्लेख गरिएको छ। हनुमान हिन्दु महाकाव्य रामायणका केन्द्रीय पात्र हुन्। हनुमान भगवान श्रीरामका परमभक्त तथा अष्टचिरिन्जीवी मध्ये एक हुन्। हनुमान अझै पनि यो पृथ्वीमा जीउँदै छन् भन्ने विश्वास गरिन्छ। हनुमान अत्यन्तै बलवान थिए। उनी चरा जस्तै उड्नेदेखि पर्वत झै विशाल स्वरुप धारण गर्न सक्थे। उनमा सूक्ष्म रुप धारण गर्नसक्ने क्षमतादेखि ३ लोक १४ भुवनको विचरण गर्नसक्ने सामथ्र्य रहेको पुराणहरुमा वर्णन गरिएको छ। आदर्शमा अडिग तथा स्वामीभक्ती र सेवामा अविलचित रहने पात्रको रुपमा हनुमानको श्रद्धा गरिन्छ। हनुमानलाई बल, सामथ्र्य, पुरुषार्थ तथा ज्ञानको स्रोतको रुपमा आदर, सम्मान तथा पूजा गरिन्छ।

हनुमानलाई खेलका देवताका रुपमा पनि पूजा गरिन्छ। भारत्तोलन तथा कुस्ती खेलका देवता भनेर हनुमानको आदर र उपासना गर्ने गरिन्छ। हनुमानलाई ध्यान तथा ज्ञानका देवता भनेर पनि अर्चना बन्दना गरिन्छ। हनुमान जितेन्द्रिय पुरुष थिए भन्ने पुराणहरुमा वर्णन गरिएको छ। हनुमान भगवान शिवका अवतार हुन् भन्ने विश्वास गरिन्छ।  रामायण, महाभारत, भागवत पुराण, स्कन्ध पुराण, शिव पुराणमा हनुमानलाई भगवान शिवको अवतार भनेर वर्णन गरिएको छ। विद्वानहरुले ब्रम्हा, विष्णु र शिवको संयुक्त अवतार हनुमान हुन् भनेर पनि भनेका छन्। हनुमानको पूजा हिन्दु धर्माबलम्बीका साथै बुद्ध, जैन तथा सिख धर्माबलम्बीले पनि गर्छन्। नेपाल, भारत, तिब्बत, कम्बोडिया, इन्डोनेशिया, थाइल्याण्ड, म्यानमार तथा श्रीलंकामा हनुमान मन्दिर निर्माण गरिएका छन्। त्यहाँ हनुमानलाई विभिन्न शक्तिको प्रतिकका रुपमा पूजा गर्ने गरिएको छ।

तर हाम्रो देशमा भने राजनीतिक दल तथा नेताको अचाक्ली चाकरी गर्ने दास मानसिकता भएको व्यक्तिलाई कटाक्ष गर्न हनुमान शब्दको प्रयोग गरिने गरेको छ। जाने र या नजानेर पौराणिक पात्र हनुमानको अवमूल्यन गर्नु गलत हो। यो प्रवृतिलाई रोक्नुपर्छ। हनुमानको महत्व नबुझेर या पौराणिक पात्रहरुको मजाक उडाउन पनि हनुमानको उपमा दिने गरिएको छ। समाजका घटिया र निम्न श्रेणीका व्यक्तिलाई बुझाउन हनुमान शब्दको प्रयोग गरिनु सर्वथा निन्दनीय कार्य हो।

राजनीतिक रुपमा दास मानसिकता भएका व्यक्तिलाई उपयुक्त हुने संज्ञा दुश्शासन हो। जसलाई अहिलेको चल्तीको राजनीतिक भाषामा हामी हनुमान भन्छौँ, ती हनुमान नभै दुश्शासन हुन्।  महाभारतको खलपात्र दुर्योधनको अनन्यभक्त तथा भाइ हो, दुश्शासन।महाभारतमा वर्णन गरिए अनुसार दुश्शासनको आड र भारोसामा दुर्याेधनले पाण्डवहरुमाथि अत्याचार गरेको थियो। राजसभामा महिनावारी भएको समयमा द्रोपदीलाई नंग्याएर पाण्डवहरुको हुर्मत लिनुपर्छ भन्ने दुर्योेधनको आज्ञालाई समेत शिरोधार्य गर्न सक्ने कठोर तथा अत्याचारी पात्र दुश्शासनको नेपाली राजनीतिमा कुनै प्रसंग नै नआउने तर परमभक्त हनुमानप्रति ज्यादति हुनु गलत हो।

दुश्शासन त्यस्तो पात्र हो जो आफ्नै काकाका छोराहरु पाँच भाइ पाण्डव तथा काकी कुन्तीको हत्या गर्न लक्षागृह नामक दरबार षडयन्त्रपूर्वक बनाएर पाण्डवहरु सुतेको समय अर्थात रातिको समयमा त्यो दरबारमा आगो लगाउने दुर्योधनको गोप्य योजनाको हर्ताकर्ता  थिए।  भीमलाई विष खुवाएर नदीमा बगाउने, पाण्डवहरुलाई कपटपूर्ण तरिकाले जुवा खेलाउने, भीष्म पितामह तथा विदुर आदिको अनादर गर्ने, दुर्योधनका हरेक कुकर्मको मुख्य समर्थक तथा मतियार मध्येमा दुश्शासन प्रमुख पात्र थियो। 

दुश्शासन, दुर्योधन र भीम जत्तिकै बलशाली पनि थियो। दुर्योधनका ९८ भाईहरुले कुनै कुरामा विमति जनाएपनि दुश्शासनले दुर्योधनका हरेक अनुचित कुरामा पूर्ण समर्थन गरेको पाइन्छ। दुर्योधनले दुश्शासनको जति भरोसा गरेको छ त्यति अरु भाइको गरेको छैन। यदि दुश्शासनले उचित सल्लाह दिएको भए महाभारतको युद्ध नै हुँदैनथ्यो भन्ने अनुमान पनि गर्न सकिन्छ। तर अहिले भने हनुमान र दुश्शासनका बीचको भेद नै थाहा नपाएर आधुनिक राजनीतिका खलपात्रहरुलाई उडाउन हनुमानको संज्ञा दिनु हाम्रो आस्थामाथिको प्रहार हो।

नेपालका राजनीनिज्ञ तथा राजनीति उपर टिप्पणी गर्नेहरुले आधुनिक पात्र र प्रवृति उपर कटाक्ष गर्दा सही पौराणिक पात्रको छनौट गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन। अहिले पुराणका असल पात्रहरुको उपमा राजनीतिक दलका निम्छरा पात्रहरुलाई दिनु अज्ञानता हो। यो मूर्खता रोक्नुपर्छ। असल पात्र हनुमानको तुलना खलपात्रहरुसँग गर्नै सकिन्न। कसै व्यक्तिलाई उपमा दिँदा कस्तो चरित्र भएको व्यक्तिलाई के उपमा दिने भनेर ख्याल गर्नुपर्छ भन्ने मेरो अनुरोध हो। राजनीतिक दल र नेताको वरिपरि झिंगा झै भुनभुन गरेर नथाक्ने पात्र हनुमान हुनै सक्दैनन्। त्यस्ता पात्रहरुलाई दुश्शासन भन्नु बरु सान्दर्भिक हुन्छ होला।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस