सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०८१ मंसिर १, ०१:३६ रासस

कञ्चनपुरः यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ।

नगरपालिकाको वडा नम्बर ६ को रिक्त वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश लिलाराज अधिकारी रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताए।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनको कार्य गरी रहेका छौँ’, उनले भने, ‘जनशक्ति व्यवस्थापनको कार्य भइरहेको छ।’ उनका अनुसार ६ वटा मतदान केन्द्रमा मतदान अधिकृतसहित ३० जना कर्मचारीलाई खटाइने छन्। मतदान केन्द्रमै ६ जना स्वयंसेवक राखिने भएका छन्।

निर्वाचन कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार पाँच हजार ४३४ मतदाता रहेका छन। त्यसमध्ये पुरुष मतदाता दुई हजार ६६५ र महिला मतदाता दुई हजार ७६९ रहेका छन्। सबै मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने कार्यालय प्रमुख जोशीले बताए।

निर्वाचन कार्यतालिकाअनुसार मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, ६ गतेदेखि १३ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको कार्य गर्ने कार्यक्रम तय गरिएको छ। मंसिर १६ गते शान्ति निकेतन माध्यमिक विद्यालयमा निर्धारण गरिएका मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ।
 

कमेन्ट लोड गर्नुस