नयाँ लुगा लगाउन गौरा नै आउनुपर्थ्याे
गौरा सुदूरपश्चिमको सबैभन्दा ठूलो तथा महत्वपूर्ण पर्व हो। हामी सानो छँदा यो पर्व हरेक वर्ष एक्लै आउँदैन्थ्यो। यो पर्वसँगै सुदूरमा गाउँले जीवनहरुले पुरै रङ्ग फेर्दथे। त्यो रङ्गको उमङ्ग पूरै एक वर्षसम्म नखुइलिएर ग्रामीण जीवनलाई चलायमान राख्ने गर्दथ्यो। आज यो लेखमा मैले गौरा पर्वको सम्बन्ध ग्रामीण जीवनसँग कस्तो थियो भनेर प्रकास पार्ने प्रयास गर्ने छु। सुदूरका गाउँबस्तीको अवस्था अहिले भने बदलिएको छ। तर मैले ३० वर्ष अगाडिको अवस्थाको तस्वीर शब्दमार्फत कोर्ने प्रयास गरेको छु।
आजभन्दा ३० वर्ष अगाडिको सम्झना संगालेर मैले केही शब्द लेख्दै गर्दा गौरा पर्वले ल्याउने त्यो समयको उल्लासले मलाई रोमाञ्चित बनाउँदै छ। गौरा पर्व आउनु भनेको विदेशिएका पुरुष सदस्य घर फर्किनु पनि हुन्थ्यो। सामान्यतया गौरा आउनुभन्दा १५ दिन पहिले नै भारतका विभिन्न ठाउँमा काम गर्न गएका बाबा तथा दाइहरु घर फर्किने गर्दथे।
कामको खोजिमा भारतका सीमावर्ती क्षेत्रमा गएका आफन्त एक्लै आउदैनथे। तिनले घरमा मात्रै होइन गाउँमै रौनक ल्याउथे। नयाँ लुगा, मिठाई, बिस्कुट तथा खेलौनामा सिट्ठी या भकुण्डो मात्रै भएपनि पाउने अवसर हामी सानाहरुलाई गौराले नै जुराउथ्यो। असारमा रोपाईँ गरेर भारत पसेका मान्छेहरु घर फर्किँदा गाउँले परिवेशले काँचुली फेरेका आभास हुने गर्दथ्यो। गौराले हरेक परिवारमा सबै सदस्यका लागि नयाँ लुगा किन्नैपर्ने बाध्यता या अवसर प्रदान गर्दथ्यो।
हुन पनि गौरा यस्तो सांस्कृतिक पर्व हो जसले छुट्टिएकाहरुको मिलन सम्भव गराउँथ्यो। एक सरो लुगा लाउनेहरले पनि गौरामा नयाँ पहिरन लगाउन पाउथे। गौरा अगाडि तिक्तता भएपनि त्यो तिक्तता मेटाउने अवसर गौराले दिने गर्दथ्यो। रिसाएका मनहरु पनि गौराको बेला आपसमा सजिलै मिल्न पुग्थे।
असारको रोपाइपछि सबैले गौरा आउन अब यति दिन बाँकी छ। उति दिन बाँकी छ भनेर औंला भाच्दै गन्ने गर्दथे। गाउँका बालबालिका र महिलाहरुले गौराको हिसाव ठ्याक्कै औंलामा गनेर भन्ने गर्दथे। तिथि अनुसार हिसाब गरेर गौरा एकादशी, खलो छुने पुनेउ अर्थात पूर्णीमा, बिरुडा पञ्चमी, गौरा अष्टमी आदिको हिसाब औपचारिक शिक्षा हासिल नगरेका आमाहरुले गरेको हामी सुन्ने गर्दथ्यौँ। यसरी गाउँमा आमाहरुले गर्ने अनौपचारिक संवादले हामी बालबालिकालाई गौराको नजिकै पुर्याउने गर्दथ्यो।
गौराका लागि यो गर्नु छ, त्यो गर्नुछ भन्ने ग्रामीण जीवनका लागि सदाबहार संवाद हुने गर्दथे। गौरामा कुलदेवता पूजन तथा परिवारका सदस्यका लागि लत्ताकपडा, जुत्ता चप्पल खरिद गर्नु अनिर्वाय तर अलिखित नियम जस्तै थियो।
ग्रामीण समुदायमा आम्दानीको खासै स्रोत नहुने स्वादेशमा रोजगारीको अभावका कारण रोपाइँ सक्नासाथ भारतको पिथौरागढ जानेको लर्को दिनभर जसो देखिन्थ्यो। हाम्रो गाउँ भएर निकै धेरै मान्छे पिथौरागढ कुल्ली गर्न जाने गर्दथे।
गौरामा घरका जहान तथा केटाकेटी र बुढापाकाहरुका लागि नयाँ लुगाको सुनिश्चितताका लागि पिथौरागढमा पसिना बगाउन जानेको लस्कर हामीहरु गनेर बस्दथ्यो। एकै समूह ६ सातदेखि बीस/तीस जनाको लस्कर झोलामा बाटोमा खाने सामल बोकेर गन्थन मन्थन गर्दै कालीपारीको लागि हिँडेका दृश्य हाम्रा लागि अनौठा थिएनन्। हामीलाई थाहा थियो यी सबै गौरामा लागि घर फर्किनेछन् र अहिले सामानले भरिएका झोला र डोकाहरु घर फर्किदा नयाँ लुगा, साबुन, तेल, चिनी–मिश्री तथा अन्य सामानले भरेर ल्याउने छन्। अहिलेको रित्तो कमिजको खल्ती भित्र जतनले थुपारेको पैसाको पोको हुनेछ।
रोपाइँ गरेर गाउँका सबै पिथौरागढ जाँदैनथे। जो जादैनथे ती गाउँघरमै सानो–तिनो कमाई गर्थे। खाद्यान्न बिक्री गर्नु, घ्यू बिक्री गर्नु, गाईभैंसी र बाख्रा बिक्री गरेर हुने आम्दानीबाट पनि गौराका लागि नयाँ लुगा किन्ने योजना हरेक घरमा साउन महिनाभर बन्ने गर्दथे। घरको बजेटको महत्वपूर्ण हिस्सा गौराका लागि खर्च गर्नैपर्ने अवस्था थियो आजभन्दा २० वर्ष अगाडिसम्म।
त्यो समयमा गाउँमा त के जिल्ला सदरमुकाममा समेत सडक पुगेको थिएन। बैतडी भएर अहिलेको उत्तरखण्डको पिथौरागढमा पर्ने झुलाघाट तथा त्योसँग जोडिएको बैतडीको जुलाघाट बैतडी र बझाङ जिल्लावासीका लागि प्रमुख व्यपारिक केन्द्र थियो। जुलाघाटमा घ्यू बेचेर आउने पैसाले सबै परिवारका सदस्यका लागि लुगा लिएर आउने गर्दथे।
हामी केटाकेटीले गौरामा पाउने लुगाको रङ हामीलाई पहिल्यै थाहा हुने गर्दथ्यो। गौरामा केटाहरुले आकाशे रङको कमिज तथा कालो पाइन्ट तथा केटीहरुले आकाशे रङको कुर्ता तथा कालो रङको सलवार सिलाउन पाउँथे। यो अघोषित नियम नै थियो। त्यो किन अघोषित नियम थियो भने हाम्रो विद्यालयहरुले पोशाकका लागि तोकिएको रङ यो नै थियो। हरेक वर्ष गौरामा नयाँ स्कुल ड्रेस सिलाएर लगाउन पाउनु भनेको हाम्रा लागि ठूलो उपलब्धी हुने गर्दथ्यो।
कसैकसैले भने गौराको महत्वपूर्ण दिन (अठपालीको दिन) नयाँ लुगा लगाउन नपाएर निरास हुनुपर्दथ्यो। कपडा भएर पनि लुगा सिलाउने सूचिकारले भनेको समयमा लुगा नसिल्दा निरिह भएर गौरामा अघिल्लो वर्षकै लुगा लगाएर रमाउनुपर्ने बाध्यता हुन्थ्यो। सानोमा हामीसँग केवल दुई जोर लुगा हुने गर्दथ्यो। एक नयाँ स्कुल ड्रेस अर्को अघिल्लो वर्षको। हामी जात्रा मेला तथा बिहे आदिमा जानु पर्यो भने त्यहीँ स्कुल ड्रेस लगाएर जाने गर्दथ्यो। हाम्रो एकनासको लुगा भएको समूहलाई ‘स्कुलेहरु’ भनेर सम्बोधन गरिन्थ्यो।
गौराले हामीलाई वर्ष दिनपछि एक जोर नयाँ लुगा, एक जोर जुत्ता या चप्पल उपहार दिएर जाने गर्दथ्यो। गौराका चार/पाँच दिन हामीले मौलिक संस्कृतिको पदचाप पछ्याउने मौकासमेत पाउने गर्दथ्यौ। बाजा बजाउने, डेउडा खेल्ने, ठाडो खेल, चैत तथा धुमारी तथा फागहरुसँग साक्षात्कार हुने अवसर पनि गौराले जुराउने गर्दथ्यो। हामी फुक्काफाल भएर रमाउन पाउने अवसर नै हरेक वर्ष गौराले प्रदान गर्दथ्यो।
नदीमा नथाकुल्जेल पौडी खेल्न पाउनु, लोभी गाउँलेको खेतबारीको दाडिम चोरेर खान पाउनु, थोरै भएपनि नगद रुपैयाँ घरबाट प्राप्त गर्नु, ओल्लो गाउँ पल्लो गाउँ फाल हाल्दै घुम्न पाउनु, बारीका काक्रा चोरेर खान पाउनु जस्ता स्वतन्त्रता पाउन हामीले फेरि गौरा आउने समय कुर्नु पर्दथ्यो।
सबैजसो जात्रा तथा पर्वको सुरुवात गौरापछि नै हुने गर्छ। गौरा सुदूरपश्चिमेलीहरुका लागि जेठो पर्व हो। दशैंमा पूजा गर्नुपर्ने, ब्रत बस्नुपर्ने भएकोले हाम्रा लागि अष्टमी र दशैंको जात्रा मात्रै महत्वपूर्ण हुने गर्दथ्यो। अहिलेजस्तो दशैंमा खानपिन तथा किनमेल पहिला गरिदैनथ्यो।
अहिले बिस्तारै हाम्रो समाजमा गौराको महत्व घट्दै गएको जस्तो देखिन्छ। तर हिजोका दिनमा भने गौराले कुटुम्ब जोड्ने, देवीदेवता र मानव सम्बन्धका विविध आयामको उजागर गर्न सफलता प्राप्त गरेको महसुस मलाई भएको छ। त्यो गौरा जसले नयाँ लुगा लगाएर चरी झै नाचुकी भन्ने महसुुस दिने गर्दथ्यो। उही मेरो समयको बालापन सम्झिदै गाउँको गौरा सम्झिदै यो आलेखको बिट मार्ने अनुमति चाहान्छु।
अन्त्यमा, गौरामा नयाँ स्कुल ड्रेस लगाउन पाउँदाको खुशी अहिले कसैले हातमा मोती राखे पनि प्राप्त हुन्न होला सायद।