बजारीकरणकाे समस्याले नेपाली हाते कागज उद्योगहरु संकटमा
एक दशक अघिबाट दार्चुलाको नौगाड गाउँपालिका ४ सिप्टीमा स्थापना भएको नेपाली हाते कागज उद्योग अहिले कागज बिक्री नभएर संकटमा परेको छ। जीवन ज्योती नेपाली कागज उद्योगले उत्पादन गरेको नेपाली कागज प्रचारप्रसार अभावले बिक्रीतिरण हुन सकेको छैन्। सडक पहुँच भन्दा टाढा ग्रामीण भेगमा खुलेको उद्योगको प्रवद्र्धन हुन नसक्दा उद्योग बन्द हुने अवस्थामा पुगेको हो। २०६२/०६३ सालमा स्थापना भएको उद्योगले स्थानीय उत्पादनको प्रयोग गर्दै नेपाली कागज उत्पादन गर्दै आएको छ। पर्याप्त तालिम अभाव, स्रोत साधन अभाव र बजेट प्रयाप्त नहुँदा उद्योगलाई अगाडि बढाउन समस्या भएको उद्योगका सञ्चालक राइमलसिह ठगुन्नाले बताए।
अहिले सुदूरपश्चिमभरी रहेका हाते कागज उद्योगको अवस्था ज्योती नेपाली कागज उद्योगको जस्ते छ। स्थानीय भाषामा बडुवा अर्थात लोक्ताबाट नेपाली कागज बनाइने गरिएको छ। लोक्ताबाट चिठी खाम, ए फोर साइजका सादातावा, प्रशासनिक कागज तथा जन्मकुण्डली पत्र निकाल्ने गरिएको छ। स्थानीय उद्योगबाट उत्पादन गरिएको कागज बजारमा पाइने नेपाली कागज भन्दा सस्तो छ। अहिले सो उद्योगले मकै, गहु, जौ, लोक्ता, धानको पराल लगायतका कच्चा पदार्थबाट कागज उत्पादन गर्ने गरेको ठगुन्नाले बताउनुभयो। उद्योगले उत्पादन गरेको कागज बिक्रीको लागि समन्वय नहुँदा समस्या भएको छ।
नेपाली कागजलाई चाहिने कच्चा पदार्थ स्थानीय स्तरमा प्रशस्त मात्रामा रहेको स्थानीय अमरसिह ठगुन्नाले बताए। स्थानीय नेपाली कागजलाई बजारीकरण गर्न सबैले सहयोग गर्नुपर्नेमा उनको आग्रह छ। जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले जिल्लामा उत्पादन भएको उद्योग प्रवद्र्धनको लागि पहल गर्ने बताए। यसैबीच महाकाली नगरपालिकाले खलंगाले जीवन ज्योती नेपाली कागज उद्योगबाट दुई हजार प्रति ए फोर साइजको कागज किनिदिने भएको छ। उता नौगाड गाउँपालिकाले नेपाली कागज उद्योगलाई प्रवद्र्धन एवं टिकाउनको लागि पहल भइरहेको अध्यक्ष प्रेमसिह धामीले बताए। स्थानीय सरकार गठन भएपछि गाउँपालिका अन्तर्गत रहेका उद्योगहरुको अवस्था अध्यनन गरिरहेको उनले बताए। हाल उक्त उद्योगले अहिले चिठी पत्र हाल्ने खाम दुई रुपैयाँ, ए फोर कागज दुई रुपैयाँ ठूलो साइजको कागज १० रुपैयाँ तथा जन्मकुण्डली कागज एक सय ५० रुपैयाँमा बिक्री गर्दै आइरहेको जनाएको छ।