सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘विद्यार्थीहरुमा फरक किसिमको संस्कार निर्माण गर्ने प्रयासमा छौँ’

२०७८ भदौ १०, ०३:४३ खबर संवाददाता

धनगढी: ग्यालेक्सी एकेडेमी व्यवस्थापन समिति अध्यक्ष मोहनराज भट्टसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम राज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।   
तपाईको व्यक्तित्वको विषयमा जानकारी गराई दिनुस न ?
मेरो बाल्यकाल सामान्य किसान परिवारमा नै बित्यो। बुवा किसानसँगै समाजसेवी पनि हुनुहुन्थ्यो। जन्म धनगढीमा नै भएको थियो। स्कुल पनि धनगढीमा नै पढेको हँु। बुवाको चाहना राम्रो स्कुलमा छोराहरु पढुन भन्ने थियो त्यसैले २०३३ सालमा स्थापित ऐश्वर्य विद्यानिकेतनमा दाई र मलाई भर्ना गरिदिनु भयो। त्यहिबाट एसएलसी पास गरेको हुँ। कैलाली बहुमुखी क्याम्पसबाट इन्टर र स्नातक गरे। पढ्दा पढ्दै शिक्षण पेशाको प्रारम्भ गरे। सुरुमा  जेसिस एभरेस्टबाट र पछि  ऐश्वर्य विद्यानिकेतनमा शिक्षण पेशा गरे। पछि मास्टर्सको लागि काठमाडांै गए र फेरि फर्केर धनगढी नै आए। 

धनगढी आएपछि सौभाग्यबस् २०५६ सालको जेठको २२ गते पानी परिरहेको थियो। त्यतिखेर मोबाइल फोनहरु कम हुन्थ्ये। घरमा लेन्डलाइनमा एसपीएका अध्यक्ष योगेन्द्र बहादुर शाहीको फोन अयो। उहाँले बोलाउनुभयो। म २७ वर्षको थिए। त्यहाँ गएपछी उहाँले एउटा प्रस्ताव राख्नुभयो। ‘प्लस टु को लागि एसपिए  दर्ता गरेर  आएको छुँ। प्राचार्यको लागि तपाइँ बाहेक अरु उपयुक्त व्यक्ति भटेन’ भन्नुभयो। 

यस्तो सुन्दा म दंग परे तर डर पनि लाग्यो। त्यसपछि मैले कुनै जबाफ तत्काल दिन सकिन। पछि मेरो एकजना काका हुनुहुन्थ्यो यज्ञराज भट्ट। उहाँ शिक्षा क्षेत्रमा नै काम गर्नु हुन्थ्यो। उहाँले ‘तिमीमा क्षमता छ। तिमीले प्रयास गर्यौ भने गर्नसक्छौ’ भन्नुभयो।  
अनि योगेन्द्र सरले अझ आग्रह गरेपछि २०५६ साल साउन ६ गते देखि औपचारिक रुपमा एसपीएको प्राचार्य भएर ८ वर्ष काम गरेको थिए। त्रीनगरमा एउटा कोठा दिइएको थियो त्यहाँ मेरो कुर्सी र एउटा टेबुल थियो अनि  हर्क बेलाल जि र म गरी २ जना थियौं। शुन्यबाट सुरु गरेका थियौ। एसपीएको त्यो कार्यकालले धेरै सिक्ने मौका पाए।

कहिले काही आफ्नो जीवनको विगत तिर फर्केर हेर्दा कस्तो महसुस हुन्छ ?
विगतलाई हेर्दा गर्व महसुस हुन्छ। मैले जीवनमा काम गर्न चाहेका र सहज लाग्ने दुईवटा क्षेत्र  हुन्। एउटा शिक्षा क्षेत्र र अर्को सहकारी। सौभाग्यबस सहकारीमा पनि नवजीवन सहकारीमा दुई कार्यकाल महाप्रबन्धक भएर काम गर्ने अवसर पाए। अहिले पनि मलाई के लाग्छ भने सहकारीलाई र शिक्षा क्षेत्रमा जोडेर अगाडि लग्नु पर्छ। यदि मौका पाए छु भने सहकारी र शिक्षालाई जोडेर एउटा बेस्ट मोडेल दिनसक्छु भन्ने लाग्छ।

अहिले ग्यालेक्सीको अवस्था चाहिँ कस्तो छ ?
भौतिक र विद्यार्थीको एकेडेमिक हिसाबले स्वास्थ नै छौं। हाम्रो जुन योजना अनुसार स्कुल सञ्चालन गर्दा थियो त्यो प्राप्त गर्दै गरेको स्थितिमा छौँ। हामी धनगढीका सबै अभिभावकको स्कुल बनाउन चाहन्छौँ। ग्यालेक्सीमा  नर्सरीदेखि १२ कक्षासम्म पढ्ने  विद्यार्थीहरुमा फरक किसिमको संस्कार निर्माण गर्ने प्रयासमा छौँ। ठुलो भन्दा पनि राम्रो मान्छे बनाउने प्रयासमा विभिन्न बाधाहरुको बिचमा पनि  सफल  हुँदै पनि गइरहेका छौँ। अहिले पछिल्लो सात वर्षमा हामी नजरमा पर्ने र स्थापित हुनमा नै गयो। विद्यार्थीहरुमा परिचित हुनमा बित्यो र अब चाहिँ एक किसिमले विद्यार्थी सहिष्णु बनाउने। हाम्रो पहिलेको संस्कार जुन पछिल्लो समय थोरै कमजोर बन्दै गएको छ त्यसलाई विद्यार्थीमा कसरी जोड्ने त्यो प्रयास रहन्छ। अहिलेको विद्यार्थीमा म के देख्छु भने होप कम छ डिपेन्डेन्सी बढी छ। हामी चाहिँ बच्चामा होप बढाउन चाहन्छु।

नयाँ व्यावसायिक क्रियाकलाप गर्नेहरु सुदूरपश्चिममा पनि बिस्तारै बढ्दै गएका हुनकी जस्तो देखिन्छ। उहाँहरुलाई चाहिँ के भन्नुहुन्छ ?
नयाँ व्यावसाय गर्न थाल्नुभएका भाई बहिनीहरुलाई जसले आफ्नो औपचारिक पढाई सकेर अर्थात बिचमानै रोकेर गरिरहनुभएको छ उहाँहरुलाई एउटा कुरा के भन्न चाहन्छु भने अहिले जुन ठाउँमा तपाईंहरु काम गर्न खोज्दै हुनुहुन्छ यो एकदमै सम्भावना बोकेको ठाउँ हो। हामीसँग पैसा छैन पूँजीको अभाव छ भन्ने न सोचौं, यसमा नअल्झियौं। यदि तपाईसँग योजना छ, अठोट छ र कहाँ पुग्ने हो भन्ने गन्तव्य थाहा छ भने पूँजीको लागि त लगानी गर्ने विभिन्न संस्थाहरु छन्। 

विभिन्न बैंकहरु छन् र विश्वासिलो योजना छ भने त सरकारले शैक्षिक कागजात धितो राखेर २५ लाख ऋणको व्यवस्था गरेको छ। हतोत्साहित नहुनुस्। व्यावसायको प्रारुप तपाइँलाई थाहा छ, औपचारिक रुपमा योजना निर्माण गर्न तपाईंलाई आएन पनि भने विभिन्न कन्सल्टेन्सीहरु छन्। सहयोग लिनुस। हामीहरुसँग पनि सुझाव तथा सहयोग चाहनुभयो भने म ग्यालेक्सीमा नै हुन्छ आउँदा हुन्छ। ग्यालेक्सीमा नै पढे लेखेकाहरुलाई मात्रै होइन हरेकलाई सयोग हुन्छ। अग्रजहरुसँग अनुभवहरु लिनुस धेरै अनुभवी मान्छेहरु धनगढीमा नै छन्, उहाँहरुबाट सिक्नुस।    

कमेन्ट लोड गर्नुस