मनै लोभ्याउने बडिकेदार (यात्रा संस्मरण)
सन्तोष रोकाया
पाण्डव दाईले भन्नुभयो–भाई डोटी जाऔं। किन दाई मैले म्यासेज फर्काए बडिकेदारको दर्शन गर्न। हुन्छ नि जाऔं मैले सहमति जनाएं। मैले पनि बडिकेदारको बारेमा सुनेको छु। जाँदा राम्रै होला उत्तरमा प्रतित्तोर थपें। त्यसो भए भोली धनगढी आऊ। बिहानै जानु पर्छ। हवस् हुन्छ भन्दै हाम्रो कुराकानी सकियो। डोटीको बडिकेदार गाउँपालिकामा पर्ने बडिकेदार बाबाको बारेमा यो भन्दा अगाडी मैले एक पत्रिकामा पढ्ने मौका पाएको थिएं। पढ्दै जाँदा केदार घुम्ने मेरो मनमा तृष्ण भाव उत्पन्न भईसकेको थियो। यो फुर्सदको समय त्यसमाथि पनि बडिकेदारमा दर्शन गर्न जाने मेरो ठुलो रहर। त्यो रहर पुरा हुने समय आएको थियो मेरो लागि। त्यो रातभरी निन्द्रै लागेन। बडिकेदार कसरी जाने ? कहाँ बस्ने ? धेरै हिड्नु पर्छ भन्छन्। यस्ता यस्तै नानाथरी प्रश्नहरु मनमा उब्जिए। आखिर मनको बाघलाई कस्ले पो रोक्न सक्छ र ? पछिल्लो बिहानै झोला बोकेर फूलवारीबाट धनगढी तर्फ लागें। बिहान ७ बजे पाण्डव दाई र मेरो धनगढीमा भेट भयो। भेट सँगै यात्राको बारेमा विविध कुराकानी। ताकी उहाँले यात्रा अवधिभरको सबै बन्दोबस्त गरिसक्नु भएको रहेछ। मन ढुक्क भयो। सँगै अरु दुईजना साथीहरु पनि। अब हामी यात्रामा ४ जना भयौं। बिहान ८ बजे धनगढीबाट डोटीको बागछेडाका लागि बस हिंड्यो। हामीले पनि त्यसै बसमा जाने निधो ग¥यौं।
४ वटा टिकट लिएर हामी ५३५९ नम्बरको बसमा चढ्यौं। बडिकेदारले लोभ्याएको मेरो मन त्यसै माथि पहाड प्रतिको मेरो माया प्रेम। साँच्चिकै यात्रा दमदार हुनेवाला थियो। जन्मे, हुर्केको र खेलेको मेरो पहाड नगएको पनि मलाई २ वर्ष भईसकेको थियो। यानकी मलाई पहाडका डाँडाकाँडा कतिखेर देखौं भन्ने खालको उत्कर्ष म मा थियोे। मोहनापुल अत्तरिया ६ लेन सडकको धुलोमाटोमा आफ्नो रफ्तार छोड्दै गाडि हुंइकियो। गाडिमा यात्रु भरिभराउ थिए। म भने सिट नपाएर ग्यालरीमा बस्न बाध्य थिएँ। टिकट त काटेकै थिए तर मेरो सिटमा अर्कै बृद्ध मान्छे बसेको देखेर ममा उहाँलाई उठाउन सक्ने साहस आएन। यात्रा जारी नै थियो। ग्यालरीमै बस्नु परेको पिडा मलाई कत्ति पनि थिएन किनकी मेरो मन पहाडमा थियो। सायद भौतिक शरिर मात्र बसमा।
धनगढीदेखि अत्तरिया सम्मको गाडिको किच्चाहट र ६ लेन सडकको धुलोधुवाँले पनि सायद गाडी चालक सरलाई हैरान बनाएको हुँदो होला। अत्तरिया सम्म ह्रर्न मात्र ठोकेका उहाँले जव गोदावरी नदि पार गर्नु भयो तब बस भित्र गित घन्काउन सुरु गर्नुभयो। सुरुमै बजेको रामचन्द्र काफ्लेको “पहाडका डाँडाकाँडा” बोलको गित साँच्चीकै मेरै लागि बजाएको मलाई आभास भयो। यात्राको करिब डेढ घण्टा पछि खानिडाँडा पुग्यौं। खानीडाँडामा खाना खाएर पुनः हामी यात्रामा होमियौं। त्यहाँबाट हिँडेको करिब २० मिनेट पछि सहजपुर पुग्यौं। यो सिजन सुन्तलाको हो क्यारे। सहजपुरमा जताततै सुन्तला मात्र देखिन्थे। सहजपुर पुग्ने जो कोहि यात्रुहरु सुन्तला नचाख्ने कमै होलान्। हामीले पनि केहि सुन्तला किनेर बसमा बस्यौं। केहि मिनेटपछि सहजपुरबाट गाडि बिपिनगर सडक खण्ड तर्फ मोडियो।
गाडि भित्र केहि मान्छेहरुले खासखुस गरेको आवाज मलाई अहिले सम्म याद छ। उनिहरु भनि रहेका थिए–यो पुरानो रोड हो। तर अहिले सम्म कालोपत्रे भएको छैन। चुनावको समयमा सबै राजनीतिक दलहरुले आफ्नो चुनावी मुद्धा बनाउँछन यसलाई तर अहिले सम्म कसैले पुरा गरेका छैनन्। यि यस्तै गहन खासखुसहरु मैले गाडिमा सुनेको थिएं। सायद हरेक यात्रुहरुले ति राजनीतिक दलहरुलाई सराप्दा हुन् त्यो सडकमा यात्रा गर्दाको कष्ठ सम्झेर। बेलाबखत मेरो ध्यान भने सडक छेउछाउका सुन्तलामा पथ्र्यो। कसैले हात नलगाएका झैं कमल ति सुन्तलाहरु सँगै प्रिती गाँसु झैं।
सहजपुरबाट हिँडेको करिब २ घण्टा पछि हामी बिपिनगर पुग्यौं। कैलाली र डोटीको सिमाना छुट्याउने बिपिनगरको कालीगाडमा मान्छेहरुले माछा मारेको दृश्य क्या गज्जव थियो। सँगै छेउमा केहि थान उमेर नपुगेकीहरुले नुहाई रहेको दृश्यले त मलाई मेरो पहाडको बाल्यकाल सम्झिन बाध्य पा¥यो। ति स्फुर्त दृश्यहरु देखेर आफु पनि त्यहाँ गएर पौडिऊँ जस्तो। त्यो दृश्य हेर्दाहेर्दै गाडि चालकले गाडि हाँकेको पत्तै भएन। अब डोटी लाग्यो। डोटी तर्फको यो मेरो पहिलो यात्रा हो। मलाई धेरै जान्नु थियो डोटीको बारेमा।
पहाडको कच्ची सडक सँगै धुलोधुवाँ, गाडी भरी यात्रुहरु तर पनि गाडिले आफ्नो रफ्तार छोडेको थिएन। ठाउँठाउँमा गाडीलाई पर्खेर बसेका यात्रुहरुलाई गाडिमा कोच्दै लग्दै गरेको दृश्य बताई नसक्नु छ। नागरिक सुरक्षामा तल्लिन प्रहरी प्रशाशनका केहि थान जवानहरु पनि सवार थिए त्यहि गाडीमा। तर उनिहरु अवस्था अनुसारको व्यवस्थाको सुत्रमा बाँधिएका थिए। मलाई लाग्यो यहि कारण पनि त हुनसक्छ सवारी दुर्घनाको । यात्रुहरुले सचेत नभईदिए पछि गाडिवालाको त के यो कमाई खाने धन्दा न हो । नभन्दै यस्तै कारणले त्यस्को तेस्रो दिन डोटिमैं बस दुर्घटनाको दुखद समाचार सुनिन आईपुग्यो। घना जंगलको बिचमा कच्ची सडक, यदि त्यहि कच्ची सडक पक्की भईदिएको भए क्या सुन्दर देखिन्थ्यो होला। अनि यात्रुहरुलाई पनि कति सहज हुन्थ्यो होला यात्रा गर्न। ठाउँठाउँमा खरले छाएका घरहरु, घरहरु सँगै बनाएका मौरीघारहरु, अनि मौरीले मह चुसेको दृश्य कुनै लभस्टोरीमा नायकले नायिकालाई चुम्बन गरेको भन्दा कम थिएन। यि सब दृश्य मनमोहक थिए। धनगढी, अत्तरिया खानीडाँडा, सहजपुर, बिपिनगर खड्र्यौली, बर्छेन हुँदै गाडी बागछेडा पुग्यो। धनगढीदेखि बागछेडा सम्म ७ घण्टा लाग्ने रहेछ। दुरी भने १ सय १७ किलोमिटर। हामीले बागछेडा सम्मको टिकट लिएका थियौं। थप ५० रुपैंयाको टिकट लिएर हामी अत्तरकाँडा सम्मको लागि हिड्यौं। करिब साँझ पौने ४ बजे हामी अत्तरकाँडा पुग्यौं।
बडिकेदार गाउँपालिका वडा न. ५ को अग्लो स्थानमा रहेको अत्तरकाँडाको त्यो सुन्दरता म शब्दमा कसरी बयान गरुँ। बडिकेदार बाबाको दर्शन गर्न भारतका बिभिन्न ठाउँ सँगै तराईको कैलाली र कञ्चनपुरबाट गएका थारुले निर्माण गरेका टेण्टहरुकै सुन्दरता चित्रण नगरि सक्नु छ। करिब २-३ दर्जन घरहरु भएको अत्तरकाँडामा तिर्थालु भक्तजनहरुको भिँड कुनै महोत्सब भन्दा कम थिएन। हामीहरु पनि त्यो रात अत्तरकाँडाकै सिराडी गेष्ट हाउसमा बस्यौं। यो सिजन अत्तरकाँडाको बिशेषता नै चिसो रहेछ। तर पनि पहाडमा आगोले खुट्टा सेक्नुको मज्जा नै बेग्लै। पछिल्लो दिन बिहानै नुहाईधुवाई गरेर हामी बडिकेदार तर्फ लाग्यौं। अत्तरकाँडाबाट ठाडै उकालो लाग्छ बडिकेदार पुग्नलाई। करिब २-३ घण्टाको बाटो छ त्यहाँ पुग्न तर हामीलाई भने ४ घण्टा लाग्यो। १० बजे हामी बडिकेदार मन्दिरमा पुग्यौं।
बडिकेदारमा पुग्दा
हरेक मन्दिर तथा पिठहरुका आ–आफ्नै इतिहास र धार्मीक मुल्य–मान्यता हुन्छन्। तिनै मध्ये श्रद्धालु भक्तजनहरुका मनोकांक्षा पुरा गर्ने एक प्रशिद्ध शिवपुरीका रुपमा बडिकेदारलाई पनि लिईन्छ। करिब २ हजार ८ सय ९१ मिटरको उचाईमा अवस्थित बडिकेदारबाट आधा डोटी सँगै बझाङ्ग जिल्लामा पर्ने केहि हिमालयहरु पनि देखिन्छन। प्राचिन एक शहस्त्र ल्हार जातका मान्छे र उनको गाई सँग जोडिएको कहानीबाट बडिकेदार बाबाको दर्शन तथा पुजापाठ प्रारम्भ भएको किवदन्ती रहँदै आएको छ।
अग्लो भिमखोंचमा केदारबाबाको गाथ रहेको छ। केदारबाबामा दर्शन गर्न भारतका चन्दनचौकी, पलिया, बरेली सँगै सुदूरपश्चिमका ९ वटै जिल्लाबाट श्रद्धालु भक्तजनहरु जाने गर्दछन्। यति सम्मकी तराईका थारु समुदायहरु मन्दिर दर्शनको लागि तराईबाट नै पैदल जाने गर्दछन्। बडिकेदार पुग्न जति दु.ख ग¥यो त्यति आफुले मागेको पुरा हुने उनिहरु बताउँछन्। पुख्यौं पुर्खा देखि केदारबाबा सँग आफुहरुको सामिप्यता रहँदै आएको उनिहरुको भनाइ छ।
हजारौं श्रद्धालु भक्तजनहरुको भिँड लाग्ने बडिकेदारमा भौतिक संरचनाहरु सँगै सडक सञ्जालको सुविधा भए सुदूरपश्चिमलाई आर्थिक सहजता तथा धान्न सक्ने क्षमता केदार बाबामा देखिन्छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि अब बडिकेदारमा बाह्रै महिना भक्तजनहरु आउने बातारण निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको छ।