युवक हत्या प्रकरणको रहस्य गर्भमै
धनगढीका युवक विजय थापा हत्या प्रकरणको १० दिन हुँदा सम्म पनि प्रहरीले घटनाको वास्तविकता बाहिर ल्याउन सकेको छैन्। गत कार्तिक ३० गते राती प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का विजय थापाको हत्या भएको थियो। राती नै थापालाई घिर्सादै लगिरहेको अवस्थामा प्रहरीले वडा नम्बर ४ कै आशिष सेठीलाई पक्राउ गरेपनि घटनाको वास्तविकता बाहिर नआएको हो। अदालतबाट १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान जारी राखिएको तर घटनामा कुनै नयाँ तथ्य फेला नपरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख तथा प्रहरी नायब उपरिक्षक हरि ओलीले घटनासँग सम्बन्धीत प्रमाण संकलनमा जुटेकाले छिट्टै सेठीलाई अदालत पेश गरिने जानकारी दिए। प्रहरीले साचीको रुपमा धेरै जनालाई सोधपुछ गरेपनि घटनामा संलग्न भएको आशंकामा थप व्यक्ति भने पक्राउ नपरेको जनाएको छ। घटनामा दोषीलाई उम्काउने प्रयास भएको भन्दै स्थानीयले संघर्ष समिति गठन गर्दै धनगढीमा विरोध प्रर्दशन समेत गरेका थिए। प्रहरीले दोषिलाई कारवाहीको दायरामा ल्याउने आश्वासनपछि स्थानीयले विरोधका कार्यक्रम फिर्ता लिएका थिए।