सुदूर नेपाललाई विश्वसँग जोड्दै

आधुनिकतामा बदलिँदै गरेको रक्षा बन्धन

२०७८ भदौ ६, १२:१६

-जी एस भण्डारी 
आज ऋषितर्पणी, जनैपूर्णिमा तथा रक्षा बन्धन तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन्। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ। साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ।

विशेषगरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषि तर्पणी समेत भन्ने गरिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ। आजको दिन पुरानो जनै फेरेर ब्राह्मणद्वारा मन्त्रले शुद्ध गरेको जनै धारण गर्ने चलन रहेको छ। तागाधारीहरुले नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन्। 

हिन्दु धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, बिष्णु  र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। पूर्णिमाको दिन जनै तथा राखी बाध्नाले देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त भइने तथा जनैले मानिसमा बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको छ।

वैदिक कालदेखि नै जनै लगाउने संस्कार भएकाहरुका लागि यस दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रुपमा लिइन्छ। अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्‍याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन विहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरु गरिन्छ।
यस पर्वमा ९ प्रकारका गेडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ। नेवारी समुदायले भने यस पर्व अर्थात जनै पूर्णिमामा गुन्हु पुन्ही मनाउने प्रचलन छ।

रक्षा बन्धन
हिन्दु धर्म अन्तर्गत मनाइने महत्वपूर्ण धार्मिक संस्कार मध्ये  रक्षा बन्धन पनि एक हो। रक्षा बन्धन एउटा यस्तो पावन बन्धन हो जसले हाम्रो जीवनलाई ज्ञान, सत्य र कर्तव्यमा बाध्छ। जसले गर्दा हाम्रो जीवन सहि र सुरक्षित हुन्छ साथै हामीलाई हाम्रो कर्तव्य, मर्यादाहरुको बोध गराउँछ। नेपाल यस्तो देश हो, जहाँ विभिन्न जातजाति, भाषाभाषी तथा धर्मावलम्बी मिलेर बसेका छन्। भौगोलिक रुपमा पनि विविधता छ। हरेक भौगोलिक क्षेत्रमा आ–आफ्नो किसिमका चाडपर्व, सामाजिक परम्परा तथा संस्कृति नेपालको विशिष्ठता हो। नेपालको पहिचान भनेकै बहुआयामिक ढंगबाट विभिन्न संस्कृति मानिनु हो।

हाम्रा हरेक चाडपर्वहरुको उत्तिकै महत्व छ हामीले मनाई रहेका चाडवाडहरुको धार्मिक पक्ष, सांस्कृतिक पक्ष, मनोवैज्ञानिक पक्षसँग सम्बन्ध रहेको छ। चाडवाडले उत्साह उमँग थपिदिएको हुन्छ भने आफन्तजनबीचको सुमधुर सम्बन्ध, भेटघाटको अवसर जुटाइ दिएको हुन्छ। आ–आफ्ना समयानुकुलका चाडपर्वहरुको उत्तिकै महत्व रहेको छ। यसदिन हामीले पूरोहितबाट पनि पावन धागो बाध्छौं यो पावन धागो बाध्नुको अर्थ हामीलाई हाम्रो जिम्मेवारीहरु प्रतिको बोध गराइएको हो। ज्ञान प्रतिको जिम्मेवारी, परिवार प्रतिको जिम्मेवारी विशेष गरेर बुबाआमा प्रतिको जिम्मेवारी र समाज र देश प्रतिको जिम्मेवारी।

रक्षा भनेको कवच हो भने बन्धन भनेको शुत्र हो। आफ्नो देह रक्षाको लागि शरीरका पाखुरा, नाडी, घाँटी, कटी आदि स्थानमा धारण गरिने अत्यन्त पवित्र, शुद्ध र वैदिक मन्त्रद्वारा पुजीएको धागो वा डोरो नै रक्षाबन्धन हो। 
वास्तवमा रक्षा बन्धनको चलन कुनै अन्य अभिप्रायबाट सुरु भएको थियो। रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु हो भने वन्धन अर्थात कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु हो। पवित्रतालाई जोगाएर राख्न वा रक्षा गर्न कुनै विशेष प्रकारको प्रतिज्ञा गर्नु, संकल्पबद्ध हुनु रक्षाबन्धनको सन्देश हो। 

पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविष्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ। ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ।  तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध सुुरु भयो। दैत्य देवताहरुमाथि भारी पर्न थाले। देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए। तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन्। संयोगले त्यो दिन श्रावण पूर्णिमाको दिन थियो। मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए। भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामनासहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो। 

त्यस्तै अन्य कथा स्कन्धपुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ। जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए। असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो। असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहाँ भिक्षा मागे।

राजा बली महान दानवीर थिए। उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे। ब्राहृमणरुपी भगवान बिष्णुले बलिसँग भिक्षामा तीन पाइला भुमिको माग गरे। बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने। तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पूर्ण आकाश, पाताल र धरती नापे। बाँकी एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे। उनले आफ्नो शिर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे।

बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर–अमर  हुने वरदान दिए। राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसँगै बस्नुपर्ने बाचा पनि लिए।
भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो। तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो। उता लक्ष्मी पनि भगवान विष्णुको वाचाका कारण चिन्तित भएन्। यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए।

नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन्। संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो। त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दु ग्रन्थहरुमा पढ्न पाइन्छ।

बाल्यकालमा फर्कन मनलाग्यो। रक्षा बन्धन जस्ता चाडपर्वका दिनमा घरमा पुरेत आउने भनेर मेरो बुवाआमाहरु बिहानै उठेर नुहाईधुवाई गरेर पुरोहितलाई दिने सिदाको तयारीका साथ पुरोहितको प्रतिक्षा गर्नुहुन्थ्यो। हामी पनि गर्थेऔँ। त्यसो त पुरोहितको प्रतिक्षा हाम्रो घरमा मात्र हैन हाम्रो गाउँमा नै हुन्थ्यो। पुरोहित आएर टिका लगाएर उहाँबाट पाउने आशिर्वादले उज्यालो हुन्थ्यो हाम्रो अनुहार। 

आधुनिकतामा बदलिँदै गरेको रक्षा बन्धन
पुरोहितले बाँधिदिएको त्यो डोरीले त सम्पूर्ण समस्याबाट रक्षा गर्छ भन्ने विश्वास थियो हामीलाई किनभने यो रक्षा बन्धन हो। जसमा पण्डितले भाती पुर्‍याएर पढेको मन्त्रको साथ हुन्थ्यो। यो सबै रुढिवाढी भने पक्कै हैन। यो चलिआएको संस्कृति हो, परम्परा हो। 

जसले हाम्रो समाजलाई एकतामा बाध्नुका साथै सकारात्मक उर्जा दिने गर्दछ। तर आज त्यो सबै सम्झनामा मात्र सिमित छ। अहिले पण्डित कुरेर बस्ने भन्दा पनि मन्दिरमा पण्डितले डोरा बाध्न आउने मानिसको प्रतिक्षा गरिरहेका हुन्छन्। अझ त्यहाँको माहोल नै यस्तो हुन्छ कि पुरोहित हैन त्यहाँ व्यापारी र ग्राहकको भिड छ। जहाँ एउटा ग्राहक उम्कियो भने वा भनौँ एक जनालाई धेरै समय लागायो भने अर्को छुट्ने हतारले मन्त्र उच्चारण गरेको सुन्न त परको कुरा डोरी पनि पुरा बाध्न भ्याउदैनन् उनीहरु। हामी आधुनिकताका नाममा कता जादैछौँ हामीले अलिकति पनि हेक्का राखेका हुदैनौँ। जसले गर्दा आधुनिकताका नाममा हाम्रो मौलिक संस्कृति मासिँदै गइरहेको छ।

भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाईको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ। त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ। आज हरेक दिदीबहिनीले आफ्ना दाजुभाइको सु–स्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ। नेपाली समुदायमा रक्षा बन्धन भनेको दिदीबहिनीहरुले दाजुभाइको नाडीमा बजारमा किन्न मिल्ने अनेक थरीका रक्षा धागोहरु बाध्ने प्रचलन बढेको पाइन्छ।

जसकाकारण आपसमा भावनात्मक सम्बन्ध त हुन्छ तर धार्मिक महत्त्व घट्दै छायामा परेको देखिन्छ। अहिले आएर रक्षा धागो बाध्ने चलन देखासिकीको आधार राखीमा रुपान्तर हुँदैछ। हेर्दा आर्कषक राखी हाम्रो मौलिकता त पक्कै होइन तर यसमा समाजलाई आर्कषण गरेर आफ्नो व्यापार बढाउने छिमेकी मुलुकको रणनीतिले आफ्नै देशको उत्पादनशीलता, मौलिकता र संस्कृति लोप हुने स्थितिमा पुर्याउन नजानिदो तबरले म र हामी आफै जिम्मेवार छौँ।

तर अर्को सबल पक्ष के छ भने वर्षमा एक चोटी आउने यो पावन पर्वलाई भाईबहिनीको अटुट सम्बन्ध, प्रेम, शद्धता र सुरक्षाको प्रतिकको रुपमा पनि मनाइन्छ। हाम्रो परम्पराको यो यस्तो एउटा पावन पर्व हो, जो भाइबहिनीको स्नेहको साथ साथै हरेक सामाजिक सम्बन्धलाई मजबूत पार्दछ। त्यही भएर यो पर्वले भाइबहिनीलाई स्नेहको बन्धनमा जोड्ने सँगसँगै हाम्रो सांस्कृतिक, सामाजिक सद्भावनाको महत्व पनि राख्दछ।

यस पर्वले हामीलाई महत्वपूर्ण नैतिक सन्देश दिन्छ। वास्तवमा यो पर्व निःस्वार्थ प्रेम र पवित्रताको प्रतिक हो। रक्षाबन्धनको दिन बहिनीले भाईलाई तिलक लगाँउछिन् जसको प्रतीक हो समाजको हरेकलाई मानवतासँग हेर्ने र हरेक प्रति भ्रातृत्वको भावनालाई सँधै जागृत राख्ने। त्यसपछि बहिनीले भाईलाई हातमा राखी बाध्छिन् जसको सार हो प्रेम र पवित्रताको बन्धन। साथै हरेक बहिनीले यो विश्वास लिन्छिन् कि उनको भाईले सँधै सदगुण र सबै प्रति सहयोग गर्ने भावना राखिरहन्छन्।

रक्षा बन्धनको अर्थ सामाजिक स्तरमा हाम्रो सर्व प्रतिको मर्यादा, सोच, विचार, व्यवहारहरुको रक्षा गर्नु हो। रक्षा बन्धन भन्नाले स्ंवयको रक्षा आर्थात् आफ्नो रक्षा गर्ने, हरेक प्रकारको मन र संस्कारमा जुन नकारात्मक विचार छन् त्यो विचारबाट मुक्त हुनुको साथै परिवार, समाजको सहि रुपमा हाम्रो सकारात्मक सोच, विचार र व्यवहार बाट रक्षा गर्नु र स्वतन्त्रताको साथ मर्यादाको रक्षा गर्नु हो।

आज हाम्रो वर्तमान समाजमा हामी सबैको सामु जुन खालको सामाजिक कुरीति, विकृतिहरु छन्। जस्तैः हाम्रो समाजमा अहिले पनि अधिकांश रुपमा महिला दिदबहिनीहरु असुरक्षित छन्। जसले गर्दा हाम्रो समाजमा विभिन्न घटनाहरु घटिरहेको,  महिलाहरुमाथिको हिंसा, महिला भएकै कारणले दुरव्यवहार गरेको पाइन्छ। तर यो पर्वले हामीलाई यो बोध गराउछ कि हामीले एक अर्कालाई सम्मान साथ व्यवहार गर्नुपर्छ भन्ने हामी बीच जागरुकता पैदा गर्न महत्तवपूर्ण छ। र, हाम्रो सम्बन्ध, सोच, बिचार, व्यवहार, जिम्मेवारी या कर्तव्य आफु र आफ्नो परिवारसँग मात्र सिमित नभएर समाजसँग पनि गर्नुपर्छ भन्ने यो पर्वको उद्देश्य पनि हो।

चाहे त्यो पुरुषले महिला प्रति गर्ने सोच, व्यवहार होस् या महिलाले पुरुष प्रति गर्ने सोच, व्यवहार होस् या फेरि एउटा सन्तानले आफ्नो बुबा आमालाई गर्ने व्यवहार होस् या प्रकृतिप्रति मनिसले गर्ने जिम्मेवारी होस्। जसले गर्दा हामीले यो पावन पर्वलाई एउटा भाइबाहिनीको या पावन धागोको रुपमा मात्र नभएर हामीले हाम्रो सोच, विचार, व्यवहार, भावना, एक अर्कालाई गर्ने आदर, सद्भावना, संकल्प, कर्महरुलाई सन्तुलित रुपमा राख्नु हो। साथै राम्रो सोच, सकारात्मक विचारहरुबाट आफु, परिवार र समाजलाई बाध्नु हो भने नकारात्मक विचारबाट आफु, परिवार र सामजलाई सुरक्षित राख्नु पनि हो।

व्यक्तिले व्यक्तिसँग सन्तुलित व्यवहार गरे त्यो परिवार, समाज , राष्ट्र स्वतः नै सन्तुलित हुन्छ। जसले गर्दा सुरक्षित, समृद्ध र सुखी परिवार, समाज, राष्ट्र बन्न पुग्छ। यो व्यवहारलाई हामीले आत्मसात गर्‍यौँ भने वास्तवमा नै हामीले सहि रुपमा रक्षा बन्धन मनाउने छौं। जब हामी रक्षाबन्धन, जनैपूर्णिमालाई आज हरेक धर्म वा जाति बर्गमा समान रितिले यसभित्र लुकेको पवित्रता एवं स्नेह भावनाले प्रेरित भई सबैको रक्षा गर्दछौं र अरुबाट समेत गराउँछौ तब यो सृष्टिमा सुखशान्ति अनि सम्वृद्धिको हरियाली देख्न सकिनेछ। यस धर्तीलाई पुनः रामराज्य अर्थात् स्वर्ग बनाउने महान योजनामा हामी सबै सहभागी बन्न सक्ने छौँ।

आफ्नो कर्तव्य पालना गरौं। शास्त्र हराए संस्कार हराउँछ। संस्कार हराए संस्कृति हराउँछ। संस्कृति हराए पहिचान हराउँछ। पहिचान हराए राष्ट्र हराउँछ। राष्ट्र हराए हामी कहाँ रहन्छौं। त्यसैले आफ्नो जरो र आफ्नो किलो चिनौं, सभ्यता संस्कृतिको रक्षा गरौं।

रक्षाबन्धन र जनैपूणिर्माको पावन अवसरमा समस्त मानव आत्माहरुमा भौतिक आध्यात्मिक सामाजिक तथा सर्वपक्षीय उन्नति प्रगति हुँदै जावस् होस्। परिवारमा एकता सद्भाव एवं वुदैव कुटुम्वकम्को भावना विकसित गर्ने प्रेरणा जागोस्। सबैको कल्याण होस्। वर्तमान महामारी (कोभिड–१९) विरुद्ध मानसिक रुपमा लड्ने क्षमता जागोस्। काल वा अकालमा यस संसारलाई छोड्ने आत्माले राम्रो वास पाओस् वा शान्तिको अनभूति गर्न सकोस्। नेपाल तथा विदेशमा रहनु हुने समस्त नेपाली आत्मिय आमा, बुवा दिदीबहिनी दाजुभाई सबैप्रति नमन गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

पौराणिक कथाको स्रोतः विभिन्न धार्मिक ग्रन्थबाट

(लेखक भण्डारी सामाजिक संस्था हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम संयोजक हुन्।)

कमेन्ट लोड गर्नुस