सुदूर नेपाललाई विश्वसँग जोड्दै

'ऋण लिएर गोलभेँडा खेती गरे, आम्दानी भएको १२ हजार लिएर बिए पढ्न काठमाडौं गए'

२०७८ भदौ ५, ०३:५५ खबर संवाददाता

म बझाङको तत्कालीन लुयाटा गाविस वडा नम्बर ३ गडखेत भन्ने ठाँउमा जन्मे। त्यहाँबाट सदरमुकाम हिँडेर जान आधा घण्टा लाग्थ्यो तर बाटोमा खोला पर्ने र खोलामा पुल नभएकाले ३ कक्षासम्म त्यहाँको प्राविमा पढे। पछि २०३० सालतिर पुल बनेपछि ४ कक्षाबाट भने सत्यवादी मावि चैनपुरमा पढे।

मेरो सौभाग्य भन्नुपर्छ सत्यवादी माविमा पढ्दा मैले जुन शिक्षा पाए, जस्तो शिक्षकहरु पाए त्यो अहिलेको समयमा समेत बिरलै पाइन्छ होला। अहिलेको समय सायद त्यस्तो छैन। हामीसँग जयपृथ्वीस्मारक पुस्तकालय थियो।  जहाँ एसएलसी पास गरेपछि एडमण्ड बर्कको एउटा पुस्तक भेटे। त्यो समय त्यो पुस्तक सायद सेन्ट्रल लाइब्रेरीमा पनि थिएन होला। पुस्तकको नाम थियो, ‘स्पिचेज अन अमेरिकन ट्याक्सेसन’। जुन पुस्ताकालय दुर्भाग्यवस अहिले छैन होला। त्यस्तै नरेन्द्रमणी आचार्य दिक्षीतले लेखेको किताब ६ कक्षामा पढ्न पाएको थिए। ‘जेलमा तिस वर्ष’ भन्ने खड्क सिंहको जेल डायरी पनि त्यहि ६ कक्षामा पढेको हुँ।  

चैनपुरमा नै केही थोरै दुरिमा समाजसेवी रामप्रसाद खत्रीले खोल्नुभएको ‘जनपुस्तकालय’ भन्ने अर्काे पुस्तकालय थियो। म त्यहाँ पनि बस्ने गर्थे। कुनै समय यस्तो आयो सबै साथीहरु घर गइहाल्ने तर आफु साँझ ७/८ बजेसम्म पुस्तकालयमा नै हुन्थे। अध्यारो परेपछि मात्रै घर जान्थे।  

गाई पनि चराउनुपर्ने र खेती पनि गर्नुपर्ने। यसरी जिम्मेवारी सम्हाल्दै पढेको हुँ। स्कुल पढ्दा जुन दिन शिक्षकलाई प्रश्न गरिएन, छलफल गरिएन त्यो दिन बढो बेचैनी हुन्थो। पढे जस्तै महसुस हुन्थेन। यसरी हाइस्कुलको जग एकदम मजबुत बन्दै गएको थियो। मलाई ६ र ७ मा अंग्रेजी पढाउने अमेरिकन इन्जिनियर स्टेफन हवार्ड हुनुहुन्थ्यो। इतिहासको प्रोफेसर राजाराम सुवेदीले ४/५ कक्षामा पढाउनु भएको हो। सत्यवादीको त्यतिखेरका सबै शिक्षकहरु डिग्री गरेका एकदम दक्ष हुनुहुन्थ्यो। 

म एसएलसी टप नै भएको हुँ। सत्यवादीको टप भने पछि मानिन्थ्यो पनि। रहर एसएलसीपछि आइएसी पढ्ने थियो तर घरमा ऋण लागेको थियो। एकदुई वर्ष कतै शिक्षण गरेर पैसा कमाएर भए पनि पढु भन्ने लाग्यो र हुम्ला गए। तर बिरामी भए। पैसा जम्मा पनि ५ हजार मात्रै गर्न सके र फर्किए। ३ वर्षमा टुहुरो भएको मलाई आमाले नै हुर्काउनु भएका थियो र सपना भने इन्जिनियर या डाक्टर हुने देखेको थिए। पछि प्रमाणपत्र तह साईन्सबाट नभएपनि आट्सबाट पढे। सत्यवादीमा नै प्राविमा बिहान पढाउने र बिहानीको समयमा आफू पढ्दै आए। 

बिए पढ्न फेरि पैसाकै समस्या हुने भयो। जग्गा बेच्ने भन्ने पनि भएन। सबै बेचेर सकिसकेको थियो। अब के गर्ने भन्दा त कृषिबाट थोरै ऋण लिएर घर वरिपरि भएको जग्गामा गोलभेँडा खेती गरे। मेहनत पनि राम्रै भएको थियो। पछि उत्पादन पनि राम्रो नै भयो। ४२ सालमा एकै वर्षको गोलभेँडाले २० हजार जति आम्दानी दियो। ऋण त ८ हजारसम्म थियो त्यो तिरेर पनि १२ हजार बाँच्ने भएपछि बिए त्रिचन्द्र कलेजबाट गर्ने भए। २७ हजार जति खर्च हुने भयो। फेरि कतै काम गरेरै पास गरे। अनि डिग्री गर्न पैसाकै अभाव हुने भयो। त्यसपछि जनप्रिया हाइस्कुलमा तिन वर्ष पढाए। ८० हजार जति जम्मा गरेको थिए र त्यसलाई फेरि काठमाडौंमै खर्च गरे। यसरि नै मरो पढाइ अगाडि बढ्यो। 

अहिले कैलाली बहुमुखी क्याम्पस जस्तो प्रतिष्ठित संस्थाको प्रमुख भएको छु। केही त्यस्ता विषय बस्तुहरु छन्, जसलाई म परिवर्तन गर्न चाहन्थे। केही त्यस्ता सपनाहरु जोडिएका छन्, जसलाई म अगाडि बढाउन चाहन्छु। 
कैलाली बहुमुखीमा एक वर्षमा नै फोरेस्टी पढाई हुनेगरी तयारी हुँदैछ। काम चलाउनका लागि भौतिक संरचना हामीसँग छ। साथै सामाजिक विकास मन्त्रालयले एउटा भवन बनाइदिने पनि भएको  छ। बाँकी साधारण शिक्षाको स्तर उकास्न खोज्नेमा प्रयास हुन्छ। 

हाम्रो नतिजा ३०/४० प्रतिशत भन्दा ज्यादा छैन। यसलाई सुधार गर्ने भन्ने छ। अर्को कुरा अध्ययनको वातावरण बनाउने छ। गेस पेपरमा निर्भर हुने र पास फेल पनि गेस पेपरसँग मिलेका प्रश्न आए पास हुने नत्र फेल हुने स्थिति छ। यसलाई बदलिन जरुरी छ। मेरो प्रयास त्यही रहन्छ।  

(कैलाली बहुमुखी क्याम्पस प्रमुख प्रा. डा. धर्मराज उपाध्यायसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले गरेको कुराकानीका आधारमा)


 
 

कमेन्ट लोड गर्नुस