आहा ! खप्तडको कोदोको माणो
पौरखी हातहरु
कोदो ! सुदूरपश्चिमको रैथाने बाली हो। सुदूरपश्चिमका ७ पहाडी जिल्लामा प्रशस्त मात्रामा फल्ने कोदोको खेती पछिल्लो समय घट्दै गएको छ। पहिले–पहिले गाउँका भान्छामा कोदोका परिकार पनि प्रशस्त मात्रामा पाक्थे। सुदूरपश्चिमको मौलिकता दर्शाउने कोदोको उत्पादन कम हुदै जान थालेपछि यसको अस्तित्व पनि लोभ हुने खतरामा पुगेको छ। लामो सयमदेखि सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनको अभियानमा सक्रिय बझाङका युवा किशोर खड्काले कोदोलाई व्यवसायीकता दिने प्रयास गरेका छन्। दुई महिना पहिले धनगढीको चौराहामा खप्तड खाजा घर सञ्चालन गर्दै खड्काले अर्गानीक कोदो र आलुका परिकार बनाउन थालेका छन्। पर्यटन प्रवद्र्धन र पर्यटकीय सम्भावना अध्ययनको क्रममा सुदूरपश्चिमको मौलिक परिकारले बजार नपाएको देखेपछि उनले कोदो र आलुका परिकारको कारोवार सुरु गरेका हुन्।
व्यवसायीक रुपबाटै भएपनि रैथाने बालीका परिकारको प्रचार प्रसार गर्दै त्यसको संरक्षण गर्ने लक्ष्य बोकेका खड्कालाई देश विदेश घुम्ने क्रममा त्यहाँको मौलिकता, संस्कृति, भेषभुषा, रितिरिवाज तथा रैथाने परिकारले निकै आर्कषित गर्दथ्यो। सुदूरपश्चिमका पर्यटकीय स्थल घुम्ने बेला भने खड्कालाई त्यो झल्कोले घोचिरहन्थ्यो। अनी उनको मानसपटलमा सुदूरपश्चिमको मौलिक संस्कृतीको संरक्षण सम्बद्र्धन तथा यहाँका रैथाने बालीका परिकार पर्यटकलाई चखाउन पाए कति आनन्द आउथ्यो होला भन्ने सोचाई आयो। त्यही सोचले प्रेरित हुदै काठमाडौँबाट धनगढी फर्किएर रैथाने बाली कोदो र आलुका परिकारका परिकार खुवाउन थालेको खड्का बताउछन्।
पछिल्लो समय सुदूरपश्चिममा स्थानीय परिकार बनाउने क्रम घट्दै गएको छ भने यहाँ घुम्न आउने पर्यटक सवैतिर पाईने परिकारहरु नै खान थालेका छन्। सुदुरपश्चिमको मौलिक खानाका परिकारहरु पाउनै मुस्किल भएका वेला खड्काले त्यसको जमर्को गरेका हुन्। यहाँका परिकारहरु त्यो पनि अर्गानीक दिने उद्देश्यले करिब ७ लाखको लगानीमा व्यवसाय सुरु गरेका खड्काले आफ्नो व्यवसायलाई पर्यटन मैत्री बनाउँदै लैजाने लक्ष्य राखेका छन्।
पर्यटनमा मौलिकता महत्वपूर्ण हुने भएकाले त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता पनि बढ्दै गएको छ। दुरदराजमा उत्पादन भएको कोदो जस्तै लोभ हुने अवस्थामा पुगेका अन्य वालीलाई पनि व्यवसायीकता दिनका लागि योजना बनाएका खड्का त्यस्ता वालीहरुलाई व्यवसायिक रुप दिने सोचमा पनि छन्। पछिल्लो समय आयातित संस्कृतिले बढी प्राथमिकता पाउँदा यहाँको मौलिकता लोभ हुदै गएको छ।
विदेशी पर्यटकहरु मौलिक संस्कृति र मौलिक परिकार खान पाउँदा आन्नद महसुस गर्छन भन्ने कुरा धेरैले वुझ्न सकेका छैनन्। पत्रकारितामा स्नातक गरेर पर्यटन प्रवद्र्धन अभियानमा सक्रिय बझाङका किशोर खड्काले कोदो र आलुका परिकारलाई व्यवसायिकता दिएर पर्यटन मैत्री व्यवसाय सुरु गरे जस्तै अन्य कुराको पनि सुरुवात गर्न अग्रसर हुनुपर्ने बेला आएको छ।