‘सुदूरपश्चिममा जन्मिएकाहरुले म पश्चिमको संस्कृति जान्दैन भन्नु आफ्नो धरातल भुल्नु हो’
धनगढी: गायक/प्राज्ञ नरेन्द्रराज रेग्मीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईं गीत किन गाउनुहुन्छ ?
हरेक कुराको सुरुमा सौख हुन्छ। त्यो रहर हुन्छ। रहर लागेको काम गर्दै गएपछि माया बस्छ र माया बसेपछि त्यसको प्रवर्द्धन गर्ने, संरक्षण गर्ने मन लाग्छ। म जब सानो थिए कतै मादल बजथ्यो, नाचगान हुन्थ्यो। हेर्न खुब मन पथ्र्यो। नाच्ने कोसिस गरिन्थ्यो। मान्छेको इच्छा विना कुनैपनि क्षेत्रमा अगाडि बढ्न सक्दैन। मेरो गाउने खुब इच्छा थियो। त्यहीँ इच्छाले यहाँसम्म डोर्यायो।
हाम्रो समयको कुरा गर्दा यतातिर झ्याउरे गीत खुब सुनिन्थे। रेडियो सुन्दा हामी सबैलाई लाग्थ्यो कि रेडियो भित्र कोही छ। ऊ बोलिरहेको छ। गाइरहेको छ। त्यो समयमा फेरि देउडा संस्कृतिको पनि त्यति धेरै विकास भएको थिएन।
देउडामा मैले थाहा पाए अनुसार प्रमल स्नेही दाई आउनुभयो र त्यसपछि नन्दकृष्ण दाई।
अनि मात्रै मेरो पालो मान्नुपर्छ। यसरी देउडा क्षेत्र औपचारिक रुपले सबैले मान्ने हिसाबले विकास हुँदै गयो। प्रमल स्नेही दाईको घर म पढ्ने स्कुल सत्यवादीको नजिकै थियो र उहाँ आउँदा हामी रेडियोमा बोल्ने मान्छे आउनुभयो। भनेर कुदेर हेर्न जान्थ्यौँ। मैले आईएससी पढाई महेन्द्रनगरबाट गरेको थिए। र, पछि उल्टाखाममा ७ वर्ष पढाई सकेपछि बल्ल अनि ट्याग लाग्ने गरि यो क्षेत्रमा स्थापित भए। यसरी सुरुमा रहरले यो क्षेत्रमा प्रवेश गरेको थिए भने अहिले आत्मसन्तुष्टि र सम्बर्द्धनको लागि यो क्षेत्रमा छु।
अहिले पुराना सर्जकहरुमाथि अन्याय भइरहेको तपाईलाई महसुस हुन्छ कि हुँदैन ?
सबैलाई आफ्नो सम्पत्ति प्यारो हुन्छ। गायकको सम्पत्ति त उसका गीत नै हुन्। सर्जका सम्पत्ति त उसका रचना हुन्, त्यसैले तिनलाई हडप्नु अपराध हो। बौद्धिक सम्पत्ति पनि त भौतिक सम्पत्ति जस्तै हो नि। जस्तो कोही देश छोडेर बाहिर नै किन न जाओस् कुनैबेला फर्केर नेपाल आयो भने पनि पुर्खाको सम्पत्तिको आशा राख्दछ भने सर्जकले त पसिना बगाएर, समय लगाएर सम्पत्ति जोडेको हुन्छ। त्यसलाई कसैले पनि हलुका रुपले लिनुहुँदैन।
सम्पत्ति हो माग्न मिल्यो, चोर्न त मिलेन नि। अहिले यो चोर्ने प्रवृत्ति देखिएको छ। केही समय पहिला केसम्म भयो भने पुरानो गीत यो त गाउँमा पहिला सुन्थ्यो तपाईंको कसरी भयो सम्मको कुरा एकजना सर्जकले गर्नुभयो। उहाँलाई मैले भने, ‘कुरा बुझ्नुस। पहिला थिए। गाउँ घरमा सुनिथ्यो पनि। तर संकलन त पहिला जसले गर्यो उसको अधिकार त्यसमा रहला नि। अहिले तपाईंले पनि गित गाउँदै हुनुहुन्छ। लोकगीतमा त भएकै भाकाहरुलाई खोजेर संकलन गरेर गाउने हाे। अहिले तपाइले संकलन गरेका गीत गाउँघरमा सुनिथ्ये भनेर आउने सर्जकले आफ्नो बनाउन खोज्यो भने कस्तो होला।’ त्यसैले अहिलेको पुस्तालाई यो आग्रह हो माग्नुस तर चोरी नगर्नुस्। संकलन गर्नुस केही नयाँ गर्नुस् तर अरुमाथि अन्याय न गर्नुस्।
लोकदोहोरी प्रतिष्ठानले काठमाडौंमा अभद्र र अपाच्य शब्द प्रयोग गरिरहेकाहरुलाई केही नियन्त्रण गरिरहेको छ। त्यस्तै देउडामा पनि संरक्षण, प्रबर्द्धन गर्नको लागि एउटा संस्थाको आवश्यकता देखेर देउडा प्रतिष्ठानको नामले एउटा संस्था खडा गरेका छाै। जसको म अध्यक्ष पदको जिम्मेवारीमा पनि छु। देउडा गायक, सर्जक सबैलाई मिलाएर अगाडि जाने हाम्रो तयारी छ र काम त्यही तवरले अगाडि बढिरहेको छ। प्रश्न गरेअनुसार यसरी कोही अग्रज वा नवदेउडा सर्जकलाई त्यस्तो किसिमको अन्याय भयो भने देउडा प्रतिष्ठान त्यसको लागि लड्छ र अन्याय हुन दिँदैन। प्रतिष्ठानमा विज्ञहरु समिटिएको एउटा उपसमिति बनाउछौ जसले गीत चोरी भएको नभएको अगाडि कुन तरिकाले कानुनी उपचार गर्ने आदि विषयमा निर्णय गर्ने अधिकार प्राप्त गर्नेछ।
देउडा भनेर भाषाको प्रयोगको आधारमा मात्रै नयाँ गीत आउने भइरहेका छन्। यसलाई कसरी हेरिरहनुभएको छ ?
मैले हरेक चोटी अन्तरवार्ता दिँदा भन्ने गरेको छु। गायन क्षेत्रमा टिक्न गाह्रो भएको छ। गीतहरु बेचिन छोडे। प्रविधिले पहिलेको जस्तो गरि क्यासेट बेच्ने एल्बम बेच्ने प्रवृत्ति हट्यो। सर्जक पुरै मेला महोत्सवमा आश्रित रहन गए। र, मेलामहोत्सव आयोजकले जुन गायकलाई छाने उहाँहरुको रोजिरोटी चल्नेभयो। यसो गर्दा अहिले पछिल्लो समयमा गीतहरु नयाँ शैलीमा रमाइलो किसिमको मात्रै गाउन थालिएका हुन्। फेरि देउडा गीत, लयात्मक देउडा मन नपराउने भन्ने त छैन तर आयोजकहरुले अगाडिको भिडमात्रै देखिरहेको र त्यसकै आधारमा कलाकार बोलाउने भएकोले पनि यो स्थिति आएको हो। मेरो अनुरोध रहन्छ समाजका सचेत र अग्रज वर्ग जसले मेला महोत्सव लगाउनुहुन्छ। उहाँहरुले यो विषयमा थोरै ध्यान पुर्याइ दिनुपर्यो।
समग्रमा तपाईंलाई आदर्श मानेर संगीत क्षेत्रमा अगाडि बढ्न खोज्नेहरुका लागि के सन्देश छोड्न चाहनुहुन्छ ?
अंग्रेजी सिक्नुपर्छ। अंग्रेजी सबैले प्रयोग गर्ने भाषा जस्तो भएको छ तर त्यो जान्ने बित्तिकै आफ्नो भाषा आउँदैन भन्नजस्तो गल्ती अरु केही हुन सक्दैन। सुदूरपश्चिमको छोराले म पश्चिमको संस्कृति जान्दैन भन्नु उसले आफ्नो धरातल भुल्नु हो। नराम्रो हो। त्यसैले आफ्नो संस्कृति त आमा हो र आमाको बारेमा कहिल्यै पनि थाहा छैन भन्नुहुदैन। जहाँ गएपनि यो ठाउँ र संस्कृति, संस्कार नभुल्नु भन्छु।