बैतडीमा ६ पलसबाट म्याद नाघेका सामान बरामद
बैतडीः बैतडीमा म्याद नाघेका सामान बेच्ने क्रम बढेको छ।
जिल्लाको संयुक्त बजार अनुगमन समितिले देहीमाण्डौंमा शुक्रवार बजार अनुगमन गरेको थियो। बजार अनुगमनका क्रममा देहीमाण्डौंमा २५ ओटा पसल अनुगमन गर्दा ६ वटा पसलबाट म्याद गुज्रेका सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए। ती पसलहरुबाट ६ हजार ६ सय ३० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए।
बजार अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न आग्रह गरिएको कठायतले बताए। जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा बजार अनुगमन गरिएको थियो।