बालापन (कविता)
हुर्कियो थाङ्ग्ना थरो मा, थिरथिर गर्दै किलो
बामे सर्दा साथी थियो यहि धुलो र हिलो
सुगन्ध माटो को लिदै ढुनिमुनी आगन
तोतेबोली बाबा आमा प्यारो थियो त्यो पन
आमा–बाले खाएको खान्की रुच्थ्यो अमृत सरी
रमाउँदै हिँड्न जान्या सुन्दै चिरबिर चरी
कालोपाटी खरी बोकि लेखेको कखरा
कति प्यारो आफ्नो गाउँघर सधै हराभरा
मकै भटमास बोकि हिँड्ने बिहानीको मेला
हतपत घरमा पुग्यो स्कुल जाने बेला
छैन झोला हातमा किताब सधै एकनास दिन
चार बजे कुद्नुपर्ने घाँसको भारी लिन
कुटुकुटु मकै–भट्ट पसिनाले छ्याप्प
गृहकार्य कहिले गर्ने थकान ले जिउ झ्याप्प
बाल्दै टुकि उघिउघी सम्झ्यो भोली पालो
अनुहार, नाक र हात ख्वाक्क गर्दा कालो
बर्खामा त थाहा हुन्थेन कुन दिन हो र छुट्टि
हिउँद लाग्दा खेल्ने गर्दथियौ डन्डिबियो गट्टि
लुकामारी, चोथ्रा घारी, थाक्यो तु–तु खेली
बालापनमा कहिले काहीँ हुने थियो झेली
फाली भारी रोटि च्यापी, छैन फुर्सद हात
थकित ज्यानलाई आराम दिने सुस्केराको साथ
खुसाउन र रिसाउनलाई हुनुपर्ने भेट
नबोल्नेलाई बोलाउथियौ नि भनी उपरसेट
उट्पट्याङ्ग त आउने रहेछ थियो त्यस्तै बेला
पर्खी बस्दथियौ वर्ष भरको चौथी हान्ने मेला
काक्रा सखाप, ज्यामिर उस्तै दैलोमाथि सिस्नो
गाउले उठ्था छैन हेर बार्दलीको लिस्नो
बाध्यताले छोडे गाउँघर गरि म्याट्रीक पास
छुट्या सङ्गी भेटिन्छन् कि मनमा अझै आश
अझै होलान बर्खे खेतमा हिडेका ती डोब
बालापन सम्झिदा नि अझै लाग्छ लोभ
-सरोज दाहाल, बैतेश्वोर-०४, दोलखा