सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

२०८२ चैत्र २७, ०२:५९

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्नुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र राष्ट्र निर्माणको अभिन्न साझेदार भएको बताए । उनले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने धारणा राखे ।

नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे । कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) रोक्न स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने धारणा राखे । उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो ।

परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा उनले जोड दिए । ‘निजी क्षेत्र र सरकार बीचको सहकार्य अझै सुदृढ हुन आवश्यक छ ।

राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार हो,’ राष्ट्रपति पौडेलले भने, ‘स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ । आजको युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी ब्रेन ड्रेन रोक्न सक्छौँ ।’

कमेन्ट लोड गर्नुस