सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी १० लक्षण, जसले मोवाइल ह्याक गर्न सक्छ

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १३, ०६:०४

काठमाडौंः पेगासस साफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ। पेगाससजस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ।

यीमध्ये केही एपले मोबाइल फोनबाट वित्तीय जानकारी पनि चोर्ने गर्छन्। केहीले तपाइँको फोनको ग्यालरी, फोन कल, म्यासेजलगायतका सबै कुरालाई कन्ट्रोल गर्न चाहिरहेका हुन्छन्।

त्यस किसिमका एप र टूलहरु तपाइँकै मोबाइलमा हुन्छन् तर तपाइँलाई थाहा हुँदैन। 

मोबाइल ह्याक भएको हुन सक्ने संकेत यस्ता छन्:

१. फोनको ब्याट्रि सामान्य अवस्थामा भन्दा निकै छिटो सकिनु

तपाइँको फोनको ब्याट्रि सामान्य अवस्थामा भन्दा निकै छिटो सकिइरहेको छ भने तपाइँको मोबाइलमा त्यस किसिमका जोखिमपूर्ण एपले जासुसीको लागि प्रयोग हुने किसिमका कोडको प्रयोग गर्दा धेरै ब्याट्रि खपत हुने गर्छ। तर, तपाइँको ब्याकग्राउण्डमा धेरै एपहरु चलिरहेको अवस्थामा पनि धेरै ब्याट्रि खपत हुन्छ, त्यसैले सबैभन्दा पहिला सबै एपहरु बन्द गर्नुहोस् र त्यसपछि मोबाइलको ब्याट्रि कति टिक्छ हेर्नुहोस्।

२. डाउनलोड नगरेका एप देखिनु

तपाइँले आफ्नो फोनमा डाउनलोड नै नगरेको एप देख्नुभयो भने यो काम ह्याकरको हुन सक्छ।

३. फोन स्लो हुनु

तपाइँको स्मार्टफोन एक्कासी स्लो हुन थाल्यो भने पनि तपाइँ सतर्क हुनुपर्ने हुन्छ। मोबाइल स्लो हुनुको कारण अन्य पनि हुन सक्छन् तर एक्कासी मोबाइल स्लो हुनुको कारण भने जोखिमपूर्ण एप वा सफ्टवेयर तपाइँको मोबाइलमा हुनु पनि हो।

४. अत्यधिक डेटा खपत हुनु

अचानक मोबाइलमा अत्यधिक डेटा खपत हुन थाल्यो भने पनि यो राम्रो संकेत होइन। यस्तो हुँदा तपाइँको मोबाइलमा जासुसी गर्ने एप वा सफ्टवेयरले डेटाको प्रयोग गरिरहेको पनि हुन सक्छ।

५. फोन असामान्य हुनु

तपाइँले फोन असामान्य तरिकाले चल्न थाल्यो भने पनि यसले ह्याकिङको संकेत गर्छ। एपहरु अनपेक्षितरुपमा बन्द हुने र खुल्न नसक्नेजस्तो समस्या देखिन सक्छ भने धेरै साइटहरु यसअघि देखिनेभन्दा फरक तरिकाले देखिन थाल्छ। यस्तो भएको छ भने यो राम्रो संकेत होइन।

६. जताततै अनौठो विज्ञापनहरु देखिनु

तपाइँले मोबाइल प्रयोग गर्दा धेरै ठाउँमा अनौठो किसिमको विज्ञापनहरु देख्न थाल्नुभयो भने तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ। कहिल्यै पनि त्यस्ता लिंकहरुमा थिच्नु हुँदैन।

७. आफूले नराखेका फोटो ग्यालरीमा देखिनु

तपाइँले आफ्नो ग्यालरीमा नराखेका फोटोहरु पनि देख्न थाल्नुभयो भने तपाइँको क्यामेरालाई बाहिरबाट कसैले निगरानी गरिहेको हुन सक्छ।

८. फ्ल्यास लाइट आफैं अन हुनु

आफूले मोबाइल नचलाएको अवस्थामा पनि फ्ल्यास लाइट अन हुनु मोबाइल ह्याक हुन सक्ने अर्को कारण हो। तपाइँको मोबाइललाई अरु कसैले कन्ट्रोल गरिरहेको अवस्थामा यस्तो हुन सक्छ।

९. फोन तात्नु

लामो समयसम्म चलाउँदा फोन तात्नु स्वाभाविक हो। यद्यपि तपाइँले नचलाउँदा पनि फोन तात्छ भनेचाहिँ मोबाइल ह्याक भएको हुन सक्छ।

१०. आफूले नगरेको नम्बरहरु फोनलगमा देखिनु

तपाइँले अफ्नो फोन लग वा म्यासेजमा आफूले डायल नगरेको नम्बर वा नपठाएको म्यासेज देख्नुभयो भने तपाइँ सतर्क हुनुपर्ने हुन्छ। यो पनि मोबाइल ह्याक भएको हुन सक्ने संकेत हो।
 

कमेन्ट लोड गर्नुस