सरकारले मुआब्जा नदिएको भन्दै साँफे मार्तडी सडक खण्ड बन्द
बजुराको साँफे मार्तडी सडक खण्ड अन्र्तगत पर्ने तिपाडामा स्थानीयले सडक अवरुद्ध गरेका छन्। तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्। २०७२ सालदेखि नै छलफलको विषयमा रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेपछि जग्गा धनीले बाटोनै बन्द गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दल बीच मुआब्जा दिने सहमति भएपनि सरकारले अहिलेसम्म मुआब्जा नदिएपछि अनिश्चित कालिन बन्द गरिएको जग्गा धनीले बताएका छन्। यस अघि जिल्ला स्तरीय सर्वपक्षिय बैठकले नै मुआब्दा दिने निर्णय गरिसकेको भएपनि उपलब्ध गराउन भने ढिलाई गरेको छ।
तिपाडामा स्थानीयले पर्खाल र तार बार सहीत सडक अवरुद्ध बन्द गरेका छन्। सडक अवरुद्ध गरिएपछि यात्रुहरु तिपाडामा अलपत्र परेका छन्। आईतवार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिएपनि २०७२ सालको मूल्याकंनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको स्थानीयले बताएका छन्। अवरोध सडक खुलाउन प्रहरी टोली तिपाडा पुगीसकेको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए। सड्क सुचारु गर्ने विषयमा सरोकारवाल संग छलफल जारी रहेको छ।