सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कांग्रेसको चुनावी प्रचारमा सरकारी गाडी प्रयोग

२०७८ साउन २, ०६:३९ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसको सातौँ अधिवेशनमा नजिकिँदैछ। सोही अनुसार डडेल्धुरामा पनि कांग्रेसको चुनावी सरगर्मी बढीरहेको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएकाले त्यहाँको पार्टी चुनावमा धेरैको चासो छ। 

उसो त देउवाकै गृह जिल्लामा कांग्रेस ३ समूहमा विभाजन भएकाले पनि चुनावी चर्चाले छुट्टै स्थान पाउँछ। तर सोही चुनावी प्रचार–प्रसार गर्न सरकारी गाडीको प्रयोग भइरहेको कुरा बाहिर आएको छ। त्यो पनि सार्वजनिक विदाको दिन। 

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका भीमबहादुर साउदको कार्यकर्ता भेटघाट कार्यक्रम अन्तरगत शनिबार गन्यापधुरा गाउँपालिका जाने कार्यक्रम तय भएको थियो। सोही समूह २ वटा सरकारी गाडी(स्कारपियो) लगेर गाउँपालिका गएको खुलेको छ। बिहान अशिग्राम, दिउँसो बडाल तथा जैसेरा र साँझ सकायल जाने कार्यक्रम अनुसार उक्त समूहले सरकारी गाडी लगेको प्रत्यक्षदर्शीले देखेका छन्। 

२ गाडीमध्ये एउटा गाडीमा प्रदेश सांसद गोविन्द बोहोरा र अर्को गाडीमा नेपाली कांग्रेसका पूर्व सभापति रघुवर भट्ट सवार रहेको स्थानीयले बताएका छन्। ती दुवै गाडीमा मध्ये से१झ ३२९ नम्बरको गाडी परशुराम नगरपालिकाको भएको खुलेको छ। त्यस्तै अर्को सांसद बोहरा सवार गाडी सुदूरपश्चिम संसदिय दलको रहेको भन्ने खुलेको छ।

उक्त विषयमा परशुराम नगरपालिकाका नगरप्रमुख समेत रहेका भीमबहादुर साउदसँग प्रतिक्रिया माग्न खोज्दा उनको मोबाइल स्विच अफ आइरहेको थियो। 
 

कमेन्ट लोड गर्नुस