सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकीय गन्तव्य बन्दै डोटीको छहरा झरना

२०७८ असार २७, १०:५६ खबर संवाददाता

धनगढी: डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको छहरा झरना पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो समय सो झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गएको हो। जिल्लाभित्रकै मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन पुग्न थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

कोभिड–१९ जोखिम घटेसँगै अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि पुग्ने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको उनले बताए। ‘तराइका जिल्लामा गर्मी बढेकोले गर्मी छल्नका लागि भन्दै अहिले दैनिक तीन सय पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन्,’ उनले भने।

अध्यक्ष ओझाका अनुसार गाउँपालिकाले झरनासम्म पुग्नका लागि ग्रावेल बाटो निर्माण गरेको छ भने भरना नजिकै मन्दिर पनि निर्माण गरेको छ। उनले अगाडि थपे, ‘छहरा झरनालाई पर्यटकीय गन्तव्य बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन पनि तयार भइसकेको छ।’

जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन/चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ। कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने तथा एक दुई दिन त्यही बसेर रमाइलो गरी फर्किने गरेको बताइएको छ।

पर्यटक आउने तथा एक दुई दिन त्यहाँ बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटेल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटेल व्यवसायी बताउँछन्।
 

कमेन्ट लोड गर्नुस