सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनाङका सरकारी कार्यालयमा आजदेखि सोलार जडान

फाइल फोटो
फाइल फोटो
२०७८ असार २०, १०:५८ रासस

गण्डकी: बाढीपहिरोका कारण विद्युत् सेवाबाट विच्छेद भएको मनाङको सदरमुकाम चामेका सरकारी कार्यालयमा आजदेखि सोलार जडान गरिने भएको छ। 

बयालीस किलोवाटको लघु जलविद्युत् आयोजना बाढीले बगाएपछि गत जेठ ३० गतेदेखि चामेका सरकारी कार्यालयमा विद्युत सुविधा विच्छेद भएको थियो। सरकारी कार्यालयमा विद्युतीय भुक्तानी सेवा, सूचना प्रविधि र कम्प्युटर प्रणालीमा आधारित सरकारी सेवा प्रवाह अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले सोलार उपलब्ध गराएको हो। 

सरकारले १६ वटा कार्यालयका लागि चार चरणमा सौर्य ऊर्जा प्रणालीका सामग्री शनिबार चामे पु¥याएको हो। पोखराबाट बेँसीसहर लगिएको भए पनि मौसम खराब भएका कारण सामान चामे पु¥याउन सकिएको थिएन। शनिबार मौसम खुलेसँगै ती सामग्री मनाङ पु¥याइएको र आजदेखि जडान सुरु गरिने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेलले जानकारी दिए।

करिब १९ लाखको सामान ढुवानीका लागि चार लाख ३१ हजार खर्च भएको छ। सबै खर्च गण्डकी सरकारले नै बेहोरेको छ। सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो। प्रत्येक कार्यालयका लागि १५० वाटका दुई वटा सोलार प्यानल, दुई वटा ब्याट्री र इन्भर्टर उपलब्ध गराइएको छ। 

बाढी पहिरोका कारण जिल्लाका स्थानीयस्तरका लघुजलविद्युत् योजनामा क्षति पुगेको छ। राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरूमा बिजुली बलेको छैन। असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएका छन्। 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा यही असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको थियो। 

कमेन्ट लोड गर्नुस