सुदूरपश्चिममा लाखौँ मानसिक रोगी भएपनि विशेषज्ञको अभाव
सुदूरपश्चिममा लाखौँ मानसिक रोगी भएपनि विशेषज्ञ डाक्टरको अभावले उपचारमा समस्या भएको छ। हरेक सय जनामध्ये ३० जनामा अहिले मानसिक स्वास्थ्य समस्या रहेको सरकारी तथ्याङक अनुसार सुदूरपश्चिममा पनि साढे ८ लाख भन्दा बढीमा मानिसमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखा परेको छ। तर २८ लाख जनसङख्या रहेको सुदूरपश्चिममा सरकारी दरबन्दीमा एक जना पनि मानसिक रोग विशेषज्ञ डाक्टर छैनन्। उप क्षेत्रीय अस्पताल डडेल्धुरा र सेती अञ्चल अस्पतालमा मानसिक रोग विशेषज्ञको दरबन्दी त छ तर बर्षाैदेखि रिक्त छ। पारिवारिक समस्या, कामको तनाव, उमेर अनुसार आउने शारीरिक परिवर्तन लगायतका कारण मानसिक रोगको समस्या बढेपनि उपचारका लागि चिकित्सक नहुँदा सुदूरपश्चिममा अहिले बलात्कार र आत्महत्याका घटना पनि बढ्दै गएका छन्।
सुदूरपश्चिममा झण्डै साढे ८ लाख मानिसमा कुनै न कुनै किसिमको मानसिक रोग भएपनि विशेषज्ञ डाक्टरको अभावले उपचारमा समस्या भएको उप क्षेत्रीय अस्पताल डडेल्धुराका मेसु डाक्टर जितेन्द्र कडेलले बताए ।
प्रदेशभरीका सरकारी स्वास्थ्य सस्था मध्ये सेती अञ्चल अस्पतालमा मात्रै ज्यालादारीमा मानसिक रोग विशेषज्ञ डाक्टर गणेश खड्का कार्यरत छन्। तर सेती अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालमा रहेको मानसिक रोग विशेषज्ञ डाक्टरको दरबन्दी अहिलेसम्म पुर्ति हुन सकेको छैन्। सेती अञ्चल अस्पतालमापनि विशेषज्ञ नहुँदा उपचारमा समस्या भईरहेको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए । अझैसम्म आम नागरिकले सडकमा बेवारिसे भएर हिँड्नेलाई मात्रै मानसिक रोगी मान्ने गरेका छन्। जस्ले गर्दा असामान्य व्यवहार देखा परे स्वास्थ्य संस्थामा लैजानुभन्दा धामी, झाँक्री कहाँ जाने परिपाटी कायमै रहेको छ। ग्रामीण क्षेत्रमा धेरैले यो रोगको उपचार हुन्छ भन्ने समेत जानकारी नभएर रोग पालेर बसिरहेका छन्। सुदूरपीश्चममा राजनीतिक अस्थिरता, गरिबी, बेरोजगारी, बढ्दो शहरीकरण र वातावरणीय प्रदूषणका कारण मानसिक स्वास्थ्य समस्याका बिरामी बढ्दै गएको छ। सुदूरपश्चिममा मानसिक रोगको समस्या विकराल बन्दै गएकोसुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
सुदूरपश्चिममा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेको छ। वैदेशिक रोजगारीमा गएका व्यक्ती र परिवारमा समेत अनेक मानसिक समस्या देखिरहेको छ। श्रीमान विदेश गएपछि श्रीमती हरेक दिन फोन कुर्ने र नआउँदा वा सम्बन्धमा समस्या आउँदा त्यसले चिन्ता बढाउने गर्छ। श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीमा धेरै खालको मानसिक समस्या देखिरहेको छ। इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको छ। आफूलाई मानसिक रोग लागेको व्यक्तिले पनि थाहा नपाउने र परिवारका सदस्यलाई पनि थाहा नहुँदा त्यसैले ठूलो रुप लिईरहेको मानसिक रोग विशेषज्ञ डाक्टर गणेश खड्काले जानकारी दिए । नेपालमा मानसिक रोग विशेषज्ञ १ सय ५० भन्दा बढी छ भने मनोविद झण्डै ४३० जना रहेका छन्। तर प्रदेशका २ वटा सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको दरबन्दी हुँदा पनि एक जना डाक्टर पनि सरकारी दरबन्दीमा ल्याउन सकिएको छैन। समयमै उपचार भए मानसिक रोग ठिक हुने सम्भावना निकै बढि भएपनि विशेषज्ञ डाक्टर नै नभएको क्षेत्रमा उपचार सम्भव नै छैन्। मानसिक रोगीले उपचार नपाएकै कारण अहिले बलात्कार र आत्महत्याका घटना बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको भनाई छ ।