सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक आय दोब्बरले बढाउने धनगढी उप-महानगरपालिकाको प्रक्षेपण

२०७८ असार १३, ०६:१४ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः चालु आर्थिक वर्षका लागि धनगढी उप-महानगरपालिकाले करका दररेटसहित आफ्नो आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६४० रुपैयाँ प्राप्त गर्ने प्रक्षेपण गरेको थियो। 

तर १५ करोड ५० लाख मात्र प्राप्त गर्न सफल देखियो। हरेक वर्ष आन्तरिक आम्दानी बढाउने भन्दै नीति तथा कार्यक्रम मार्फत प्रक्षेपण गर्ने तर लक्ष्य हासिल गर्न उपमहानगरपालिका अझै सफल भएको छैन। 

उप-महानगरपालिकाको आन्तरिक आय कमजोर भइरहेका बेला पुनः आगामी आर्थिक वर्ष २०७८/७९ का लागि दोब्बर अर्थात ४० करोड ७९ लाख ९० हजार आम्दानी गर्ने भन्दै नीति तथा कार्यक्रममा राखिएको भएपनि नयाँ स्रोतहरुको सुनिश्चितता नदेखिएकाले लक्ष्यमा पुग्न कठिन हुने अर्थविश्लेषक डक्टर राजेन्द्रवीर चन्दले बताए। ‘असारे विकासले हामीले परिकल्पना गरेको विकास दिगो हुन सक्दैन’ उनले भने, ‘उपमहानगरपालिकाले गर्ने हरेक विकास निर्माणलाई उत्पादनसँग जोडेर हेर्नुपर्ने हुन्छ।’

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ७८ करोड ८२ लाख कुल पुँजीगत बजेट मध्ये जेठ मसान्तसम्म आधाभन्दा कम अर्थात २९ करोड ३२ लाख मात्र कार्यान्वयन गर्न सकेको पाइएको हो। उपमहानगरपालिकाले आन्तरिक आय मात्र नभएर पुँजीगत बजेटसहित सयौँ विकास निर्माणका योजनाहरु वर्षेनी थप्दै जाने गरेको भएपनि कार्यान्वयनको अवस्था भने निकै दयनिय देखिने गरेको छ। 

भएभरका योजना बनाउने अनि कार्यान्वयनमा केहीपनि नदेखिने अवस्थाका कारण धनगढीको विकासले अपेक्षित गति लिन नसकेको नगरवासीले गुनासो गर्दै आएका छन्। तर उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले कोरोना भाइरसका कारण विकासको निर्माणको काम केही समय प्रभावित बन्न पुगेको बताए। ‘हामीले असार मसान्तसम्म ९४ देखि ९६ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरिसक्छौँ’ उनले भने, ‘उपमहानगरपालिकाको आन्तरिक आय कोभिडकै कारण घट्न पुगेको हो।’

वर्षभरी कार्यान्वयन गर्ने गरी बनाएका कतिपय योजनाहरुको सुरुवात समेत नहुँदा प्रत्येक वर्ष पुँजीगत बजेट उपयोगविहिन बन्ने गरेको अधिकारीहरु बताउँछन्। उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अधिकांश पुरानै विकास निर्माणका योजनाहरु नीति तथा कार्यक्रममा राखेर ७८ करोड ४७ लाख ५१ हजारको पुँजीगत बजेट सार्वजनिक गरेको छ। 

असारमा गरिने विकासले पुँजी बढाउने भन्दा आन्तरिक आयलाई कमजोर बनाउने भन्दै विकासलाई उत्पादनसँग जोडेर हेर्नुपर्ने अर्थविश्लेषक चन्द बताउँछन्। ‘पुँजीगत बजेट सहि समयमा सहि रुपमा सदुपयोग नभएसम्म आन्तरिक आय बढाउन सकिदैँन’ उनले भने।

उपमहानगरपालिकाको आन्तरिक आय कमजोर हुँदै जानुको कारण पुँजीगत बजेट समयमा कार्यान्वयन नहुनु नै हो। विभिन्न नारा दिएर योजना सार्वजनिक गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुँदा त्यसको असर आन्तरिक आयमा समेत पर्ने गरेको अर्थविश्लेषकहरु बताउँछन्।

कमेन्ट लोड गर्नुस