डडेल्धुराको अमरगढीले ल्यायो ५१ करोड बढीको बजेट
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५१ करोड १२ लाख ७३ हजार बराबरको बजेट ल्याएको छ। बिहीबार बसेको नवौ नगरसभामा उपप्रमुख संगिता भण्डारीले बजेट प्रस्तुत गरेकी हुन्।
नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै ५१ करोड १२ लाख ७३ हजार बराबरको बजेट विनियोजन गरेको हो। नगरपालिकाले ३८ करोड १६ लाख ५० हजार चालु तर्फ र १२ करोड ९६ लाख २३ हजार पुँजितर्फ बजेट विनियोजन गरेको छ।
चालु आर्थिक वर्षमा आन्तरिक राजश्व १ करोड २० लाख ५० हजार हुने संसोधित अनुमान रहेको र यस बजेटद्धारा प्रस्ताव गरिएको कर तथा राजश्व सम्बन्धी नितिका कार्यान्वयनबाट आगामी आर्थिक वर्षको असार मसान्तसम्ममा आन्तरिक राजश्वबृद्धि भई १ करोड ३० लाख संकलन हुने अनुमान गरिएको छ।
नेपाल सरकारबाट ४० करोड ७० लाख र प्रदेश सरकारबाट १ करोड ७० लाख २३ हजार वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने, संघीय र प्रदेश सरकारबाट राजश्व बाँडफाँडबाट प्राप्त हुने ५१ करोड १२ लाख ७३ हजार राजश्व प्राप्त हुने अनुमान गरिएको छ।