स्थानीय तह नदीजन्य वस्तुमा दोहोरो कर असुल्दै
कैलालीका स्थानीय तहहरुले दोहोरो निकासी कर असुलेर हैरान बनाएपछि पुर्नवासका ट्रयाक्टर व्यवासायीले प्रदेश सरकारलाई गुहारेका छन्। एक स्थानीय तहबाट नदीजन्य वस्तु ढुङ्गा, गिट्टी वालुवा संकलन गरेर पैठारी गर्दा एकभन्दा बढि स्थानमा निकासी कर असुल्न थालेको भन्दै व्यवसायीले समस्याको समाधान खोजिदिन प्रदेश सरकारलाई आग्रह गरेका हुन्। गोदावरी नगरपालिकालाई नदीजन्य वस्तुको रोयल्टी तिरेर पुर्नवास पैठारी गर्दा धनगढी उपमहानगरपालिकाले समेत निकासी शुल्क भन्दै कर असुल्न थालेको हो।
गोदावरी नगरपालिकाको खुटिया, गोदावरी र खैराना नदीबाट वालुवा गिट्टी लगायतका वस्तु पुर्नवास पैठारी गर्दा धनगढी उपमहानगरपालिले पनि निकासी शुल्क भन्दै रकम असुल्ने गरेको पुर्नवासका ट्रयाक्टर व्यवासायी मान बहादुर थापाले बताए। संविधानको अन्तर प्रदेश व्यापार सम्बिन्धीको धारा २ सय ३६ मा व्यवस्था भए अनुसार पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कुनै वस्तु निकासी पैठारी हुदा शुल्क लिन नपाउने उल्लेख गरिएको छ।
तर गरुड कन्सट्रक्सनले अर्को स्थानीय तहबाट धनगढी उपमहानगरपालिका भएर बाहिरीने नदीजन्य वस्तुको निकासी मूल्य भन्दै धमाधम रकम संकलन गरिरहेको छ। ठेकेदारले बाटोमा सताउन थालेपछि व्यवसायीहरुले आफूले संकलन शुल्क र दोहोरो निकासी शुल्क तिरेको बिल सहित समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्रीलाई आइतबार ज्ञापनपत्र बुझाएका छन्। ज्ञापन बुझदै मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बन्धीत निकायसँग बुझेर समस्या समाधान गर्नतिर ध्यान दिने आश्वन दिए।
यता धनगढी उपमहानगरपालिकाले भने नगर क्षेत्रको नदीजन्य वस्तुको निकासी कर उठाउने जिम्मा पाएको गरुड कन्सट्रक्सनले दोहोरो शुल्क नउठाएको दावी गरेको छ। उपमहानगरपालिकाका आन्तरिक लेखा परिक्षक लेखनाथ ओझाले दोहोरो शुल्क उठाउन नपाईने बताए। ठेकेदारले त्यसो गरेको भए रकम फिर्ता गरिने उनले दावी गरे। तर गोदावरी नगरपालिकाले व्यवासायीबाट नदीजन्य वस्तुको संकलन मूल्य लिएपनि निकासी मूल्य भने निर्धारण नगरेको पाइएको छ।
जसको फाईदा धनगढी उपमहानगरपालिकाले लिइरहेको हुनसक्ने पनि अनुमान गरिएको छ । गोदावरी नगरपालिकाका आन्तरिक लेखा परिक्षक राजेन्द्र प्रसाद जोशीले संकलन शुल्क लिनेगरेपनि निकासी शुल्क निर्धारण नगरिएको बताए। गोदावरी नगरपालिकाले निकासी शुल्क नलिनु र धनगढी उप महानगरपालिकाले दोहोरो निकासी शुल्क संकलन गर्ने कुरालाई धेरैले मिलि भगतको संज्ञा दिएका छन्।