सुदूरपश्चिम प्रदेश सरकारको पौने ४ करोडको खानेपानी योजना, तर धारामा आएन पानी
धनगढीः डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित कालापातल–कालिढुङ्खी–सिमल्टा खानेपानी योजना निर्माणमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेका छन्।
योजना निर्माणमा भएको खर्च विवरण नै उपभोक्ता समितिका अध्यक्ष लगायतका पदाधिकारीले फरक–फरक देखाउने गरेपछि स्थानीय आक्रोशित बनेका हुन्।
करोडौँ खर्च गरेर निर्माण गरिएको खानेपानीको धाराबाट पानी नै नआएपछि योजनामा भएको खर्चको हिसाब किताब तत्काल सार्वजनिक गर्न उनीहरुले माग गरेका छन्।
आर्थिक वर्ष २०७५/७६ देखि निर्माण सुरु गर्ने भन्दै कालापातल–कालीढुङ्गी–सिमल्टा खानेपानी योजनाका लागि ३ करोड ७५ लाख विनियोजन गरिएको थियो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने भन्दै समयसीमा तोकेको थियो। तर निर्माणले अझै पूर्णता पाएको छैन।
तर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले मनलाग्दी हिसाब किताब देखाउने गरेपछि स्थानीय विरोधमा उत्रिएका छन्। योजना निर्माणमा आर्थिक अनियमितता भएको भन्दै छुट्टै लेखा परीक्षण समिति समेत गठन गरिएको छ।
नयाँ लेखा परीक्षण समितिका संयोजक लक्षमण बोहराले हिसाब किताब नै फरक–फरक आउने गरेकाले सवै विवरण समितिबाट माग गरिएको बताए।
३ करोड ७५ लाखको योजनामा २ करोड ५० लाख खर्च भएको भन्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले बताइरहेका बेला उपभोक्ता समितिले भने ८९ लाख ७० हजार १६० रुपैयाँ मात्र खर्च भएको देखाएको छ।
तर आयोजना निर्माणको पहिलो वर्ष एक करोड, दोस्रो वर्ष एक करोड ५० लाख र चालु आर्थिक वर्षको हालसम्म १५ लाख खर्च भएको तथ्यांक छ।
उपभोक्ता समितिका पदाधिकारी र डिभिजन कार्यालयका ईन्जिनियरको समेत मिलेमतोमा योजना निर्माणमा आर्थिक चलखेल भएको स्थानीयले आंशका गरिरहेका बेला डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख गोविन्द देवकोटाले एउटा समूहले विवाद गरिरहेको विषय सुन्नमा आएको बताए।
उनले खानेपानीको विषयमा स्थानीय नै दुई समुहमा विभाजित भएर विवाद गरिरहेको बताए। ‘अन्तिममा कर्मचारीलाई देखाएर आर्थिक अनियमितताको आंशका गर्ने काम पुरानै प्रवृत्ति हो’ उनले भने, ‘हामीले उपभोक्ता समितिलाई पत्राचार गरेर सबै हिसाब किताब पठाउन भनेका छौँ।'
खानेपानी आयोजना निर्माणमा आर्थिक अनियमितता भएको र जडान गरिएका धारामा समेत पानी नआएको भन्दै यसअघि स्थानीयले प्रदर्शन समेत गरेका थिए। डिभिजन कार्यालयले आयोजना निर्माणको अध्ययन अनुगमन नै नगरेको उपभोक्ताको गुनासो छ।
धारामा पानी आउने गरी भौतिक संरचना समेत निर्माण नभएको पाइएको छ। तर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले व्यक्तिगत रिसिबीका कारण केहि व्यक्तिले गाउँलाई नै बद्नाम गर्न खोजेको बताएका छन्।
‘धारामा पानी आउँदैन भन्ने विषय झुटो हो’ उनले भने, ‘अनि आर्थिक अनियमितता कहिकतै भएको छैन, पारदर्शी रुपमा सबै हिसाब किताब उपभोक्तालाई बुझाई सकेका छौं।’