डडेल्धुरामा पुनः लम्ब्याइयो निषेधाज्ञा
डडेल्धुराः कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै ७ दिनका लागि थपिएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
प्रशासनले जिल्लामा यो छैटौ पटक निषेधाज्ञा थपेको हो।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए। यस्तै, बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले निषेधाज्ञा खुकुलो पारेको छ।
अब बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछन्। स्वास्थ्य मापदण्डको पालना गर्दै आर्थिक गतिविधि अगाडी बढाउन फेन्सि, फर्निचर, भाँडा वर्तन पसललगाएत अन्य पसलहरू साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि दिउँसो २ बजेदेखि सञ्चालन गर्न पाइनेछ। साथै सो समयमा होटल र रेस्टुरेन्ट ‘टेकअवे’ सेवा दिन सक्ने छन्।