कैलालीको गोदावरीमा ५ लाखको ग्राबेलमा ४ लाख ४० हजार “झ्वाम” !
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ को मगर टोलको ८ सय मिटर सडक पहिले नै ग्राबेल गरिएको थियो।
चालु आर्थिक वर्षमा गोदावरी नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सो सडकको दुवैतिर नाली निमार्ण गर्यो। नालीको माटो सडकमा थुपारेपछि हाल मगर टोलको सडक हिलाम्मे भएको छ। हिलोले सडकमा हिड्न सकिदैन्।
नगरपालिकाले प्रत्येक वडामा वर्षातमा ५ लाखको ग्राबेल गर्न ठेक्का गरेको छ। तर वडा नम्बर ७ को मगर टोलको सडकमा एक ट्रली ग्राबेल हालिएको छैन्।
स्थानीय खेमराज ओझाले भने, “वडामा ग्राबेलका लागि एक करोड आएको भनिएको थियो। तर मगर टोलको सडक ग्राबेल गरिएन्। वर्षातमा फेरि ५ सय घनमिटर ग्राबेलका लागि ठेक्का भएको छ। तर यो सडकमा एक ट्रली पनि ग्राबेल हालिएको छैन्।” उनले मगर टोलको सडक हुँदै वडा नम्बर ७ का बेलपानी, पट्रेनी, फुलबस्ती लगायतका नागरिकलाई सास्ती रहेको बताए।
गोदावरी नगरपालिकाले ५ सय घनमिटरको ग्राबेलमा समेत आर्थिक चलखेल गरेको उनीहरुको आरोप छ। नगरपालिकाको वडा नम्बर ७ मा ५ लाखको झण्डै ५ सय ११ घनमिटर ग्राबेलको योजना कार्यान्वयन भएपनि २० ट्रली मात्र हालिएको उनीहरुले बताएका छन्। ठेक्कामार्फत वडा नम्बर ७ मा २० ट्रली अर्थात ७० घनमिटर ग्राबेल गर्दै बाँकी ग्राबेलको रकम हिनामिना भएको स्थानीयको दाबी छ।
वडा नम्बर ७ का वडा सदस्य ठक्करबहादुर मगरले नै नगरपालिकाका केही जनप्रतिनिधिले ५ लाखको बजेटमा “झ्वाम” पारिएको आरोप लगाए। उनले भने, “यो सडकमा पहिला पनि ग्राबेल गरिएन्। अहिले आएको रकमबाट २०÷३० ट्रली पनि ग्राबेल हालिएन्। वडा नम्बर ७ बाटै धेरै रकम झ्वाम भएको छ,” उनले भने। ५ सय ११ घनमिटर ग्राबेलको योजना वडामा भएपनि वडा नम्बर ७ को मगर टोलको सडकमा हिलोले हिडडुल गर्न मुस्किल भएपनि एक ट्रली समेत ग्राबेल हालिएको छैन्।
स्थानीयले वडा नम्बर ७ मा गरिएको ग्राबेल खोजदासमेत नभेटिएको तर्क गरेका हुन्। नम्बर ७ का अध्यक्ष हेमराज ओझाले नगरपालिकाले समन्वय नगरेर ग्राबेलका लागि ठेक्का दिएको बताए। उनले भने, “नगरपालिकाले नै ठेक्का दिएको हो। हामीसँग समन्वय भएन्। ग्राबेल त गर्दै थियो। तर वडाका सवै सडकका खाल्डा पुरिएन्। ग्राबेल कम मात्र गरिएको भन्दै मैले फेरि हाल्न भनेको छु।”
नगरपालिकाले ४ लाख ४० हजार रकम वडा नम्बर ७ बाट मात्र आर्थिक हिनामिना गर्न खोजेको उनीहरुको तर्क छ। प्रत्येक वडामा ५ लाखको ग्राबेल गर्न नगरपालिकाले ठेक्का दिएको भएपनि रकम भुक्तानी भने भएको छैन्। ग्राबेल कम भएको सडकहरुमा पुनः ग्राबेल गर्न लगाउने गोदावरी नगरपालिकाका प्रवक्ता शर्मा नन्द भट्टले बताए। उनले नगरपालिकाले वर्षातको समयमा परेका खाल्डा पुर्न ठेक्का गरिएको बताए।
“एक वडामा ५ लाख बराबरको ग्राबेल गर्ने भनिएको हो। ठेक्काको रकमको बारेमा मलाई जानकारी छैन्। नपुगेको होला। वर्षामा खाल्डा–खुल्डी बढी छन्। ५ सय घनमिटर गएको होला। कुन–कुन सडकमा हालिएको हो, त्यो वडाध्यक्षलाई जानकारी होला,” उनले भने।
नगरपालिकाको मापदण्ड अनुसार एक घनमिटर ग्राबेलको ८ सय ५० रुपैयाँ पर्छ। एक ट्रलीमा ३ दशमलव ५ घनमिटर ग्राबेल हुन्छ। एक वडाबाट ४ लाख ४० हजार आर्थिक हिनामिना भए १२ वडा रहेको नगरपालिकाबाट ५२ लाख ८६ हजार रकम हिनामिना हुन सक्ने आशंका गरिएको छ।