सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकामा निर्माणाधिन सडकका खाल्डाखुल्डी पुर्न माग

२०७८ असार १, ०८:११ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रका निर्माणाधिन सडकमा परेका खाल्डाखुल्डी पुर्न माग गरिएको छ। 

नगरका निर्माणधिन सडकमा रहेका खाल्डाखुल्डी र हिलोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै उचित समाधान निकाल्नुपर्ने नगरबासीले बताएका छन्। धनगढी उपमहानगरपालिकाले भने निर्माण कम्पनीसँग समन्वय गरेर दुई तीन दिनभित्र सडकमा रहेका खाल्डाखुल्डी पुरेर हिलो हुने समस्याको समाधान निकाल्ने बताएको छ। 

धनगढी उपमहानगरपालिकाभित्र एशियाली विकास बैंक र हुलाकी सडक आयोजना अन्तरगत निर्माणधिन सडक पानी पर्दा हिलाम्मे भएका छन्।  घाम लाग्दा धुलाम्मे र पानी पर्दा सडक हिलाम्मे हुने कारणले नगरबासीले सास्ती भोग्नु परेको बताउँदै आएका छन्। 
निर्माणाधिन हुलाकी सडकमा पुस्तक पसल सञ्चालन गर्दै आएका सुरज चन्दले सडकमा नाली अग्लो र सडक होचो भएका कारण सडकमा पानी जम्मा भएर पैदल यात्री लगायत अन्यलाई समेत सडक प्रयोगमा समस्या भएको बताएका छन्।

धनगढीमा क्याम्पस चोक–मनेहरा हुलाकी सडक, सहिद गेट–क्याम्पस चोक सडक, हसनपुर– पिपल चौतारा सडक र पिपल चौतारा–दाहाल टोल सडक निर्माणाधिन अवस्थामा रहेका छन्। सडकमा पानी जम्ने गरेकोले पानीको निकास र खाल्डाखुल्डी पुर्ने कार्य उपमहानगरले गर्नुपर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीय पृथ्वीराज घिमिरेले बताएका छन्। उनले भने, ‘नगर क्षेत्रमा निर्माणाधिन सडकमा पानी परेसँगै काम समेत प्रभावित हुने हुँदा कम्तीमा खाल्डाखुल्डी पुर्ने काम गरिए केही समस्या कम हुने थियो।’

धनगढी उपमहानगरपालिकाले भने निर्माण कम्पनीसँग समन्वय गरेर दुई तीन दिनभित्र सडकमा भइरहेको समस्या हटाउने नगर प्रवक्ता सन्तोष मुडभरीले बताए।

धनगढीमा निर्माणधिन सडकहरुमा ठूलठूला खाल्डा समेत परेको कारण झरीको पानी पर्दा सडकमा तलाउ हुने गरेको छ। तात्कालका लागि पानीको निकास र हिलो कम गर्न सडकमा ग्राबेल हाल्नु पर्ने माग नगरबासीले गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस