दुई महिना मेलम्चीको पानी नआउने
काठमाण्डौँ: काठमाण्डौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन्।
मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो।
समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ।
ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ। सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ।
सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ। वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ।
आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो।
काठमाण्डौँ उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो।