तस्करी गरी ल्याएका जुत्ताचप्पल बिक्री गरी व्यवसायी मालामाल, सरकार करोडौँ राजस्व गुमाउदै (भिडियो रिर्पोट)
धनगढीका जुत्ताचप्पल व्यापारीहरुले बार्षिक करोडौँका जुत्ताचप्पल भन्सार छली गरेर आयात गरिरहेका छन । भन्सार छली गरी ल्याएको जुत्ताचप्पल बिक्री गरेर धनगढीका अधिकांश व्यावसायी मालमाल भएका छन्, भने सरकारले करोडाँै राजस्व गुमाईरहेको छ । धनगढीमा जुत्ताचप्पलमा मात्रै वार्षिक करिब एक अर्ब बराबरको कारोबार हुने गरेकोमा त्यसको ६५ प्रतिशत समान भारतबाट ल्याउने गरिन्छ । तर कैलाली भन्सार कार्यालयसंग भने विगत केहि वर्ष यता भारतबाट जुत्ता चप्पल आयातभएको कुनै तथ्याङक छैन ।
कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नारायण जोशीले यात्रु शाखाबाट कहिले कहि जुत्ताचप्पल गएको हुनसक्ने जनाउदै तर भन्सार पास भएर पैठारी नभएको बताए । तर, भन्सार कार्यालयले यसै साता भन्सार रोडका केही घरमा छापा हानि तस्करी गरी भित्र्याइएको झन्डै ५ लाख बरारबरको समानमा २ लाख २१ हजार मुल्य बराबरका चप्पल मात्रै बरामद गरेको छ। भारतबाट आयात हुने जुत्ताचप्पलमा २० प्रतिशत भन्सार र १३ मुल्य अभिबृद्धि कर लिने व्यवस्था रहेको छ ।
भन्सारका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा हुने तस्करीले जुत्ता चप्पलबाट प्राप्त हुने करोडौँको राजस्व मात्र गुमिरहेको छैन्, तस्करहरुका कारण नेपाली उत्पादनले समेत बजार पाईरहेको छैन्। धनगढीको भण्डारी सुज सेन्टरका संचलक राजु भण्डारीले तस्करहरुले स्वच्छ प्रतिस्पर्धीलाई मर्कामा पारेको बताए। अर्का व्यापारी थ्री स्टार सुज सेन्टरका सञ्चालक रामभक्त पंगेनीले पनि भारतबाट हुने तस्करीले आफूहरु समस्यामा परेको जनाए।
धनगढीमा रहेका केही होलसेल बिक्रेताले भारतबाट तस्करी गरी ल्याएका समान अन्य व्यापारीलाई समेत बिक्री गर्दै आएका छन्। भारतीय मुलका अधिकांश व्यापारी चोरी तस्करीमा बढि संलग्न रहेको आशंका गरिएको छ। तर भारतीय मुलका व्यापारीले भने भारतीय समान नेपाली बजारबाटै आयात गरेको दाबि गरेका छन्। जुत्ताचप्पलको होलसेल र रिटेलर बिक्रेता विशेष फुडवयरका नागेश गुप्ताले आफुले नेपाली बजार, काठमाण्डौँ, बुटवलबाट मात्र समान ल्याउने दाबि गरे। मागको करिब ६५ प्रतिशत सामान भारतबाट आईरहदा वैध रुपमा कैलाली भन्सार कार्यालयबाट १ जोर चप्पल समेत पैठारी भएको छैन । यसले नेपाल प्रहरी, सशस्त्र प्रहरीर भन्सारका कर्मचारीहरुकै सेटिङमा तस्करी भईरहेको प्रष्ट हुन्छ।