सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञामा पनि धनगढीका डिपार्टमेन्टल निर्बाध खुल्छन् !

२०७८ जेठ ११, ०७:४८ खबर संवाददाता

धनगढीः व्यापक रुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न कैलाली जिल्ला प्रशासनको निषेधाज्ञा जारी छ। कडा प्रावधानसहित लागु गरिएको निषेधाज्ञाका कारण अहिले धनगढी बजार पूर्णरुपमा ठप्प छ। मुख्य बजारबाहेक गाउँ टोलका साना छाप्रा तथा खोकामा दैनिक उपभोग्य सामान राखेर बेच्नेहरूलाई प्रहरीले देख्ने वित्तिकै लठ्ठी लगाउँछ। 

तर, धनगढीकै मुख्य बजार क्षेत्रमै रहेको चौलानी डिपार्टमेन्टल स्टोर भने दिनभर खुल्लै रहन्छ। नजिकै एलएनचौकमा २४ घण्टा नै प्रहरीको ड्युटी रहेकै हुन्छ। एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा खोलिएका साना पसललाई प्रहरीले बन्द गराउँदै आए पनि एलएनचौकमै रहेको चौलानी डिपार्टमेन्टल स्टोरमा भने प्रहरीले आँखा चिम्लने गरेको समाचार नागरिकले प्रकाशन गरेको छ।  

‘खोकाको दैलो बन्द गरेरै साबुन स्याम्पु बेच्ने हामीहरुलाई प्रहरीले दुःख दिन्छ,’ एलएनचौकका एक व्यापारीले भने,‘तर, यही नजिकैको चौलानी डिपार्टमेन्टल स्टोरलाई भने प्रहरीले केही गर्दैन।’ चौलानी भने दिनभर खुल्ने गरेको बताउँदै उनले भने,‘कानुन सबैको लागि बराबर हो, तर यहाँ सानालाई ऐन र ठूलालाई चैन भएको छ।’ अघिल्लो वर्ष चैत ११ गतेदेखि भएको लकडाउनमा पनि चौलानी डिपार्टमेन्टल स्टोर खुल्लै रहेको बताउँदै उनले भने,‘चौलानीमा कफी, चिया पिउन तथा मदिराजन्य सामग्री खरिद गर्नका लागि अहिले पनि प्रहरी अधिकृतदेखि लिएर सरकारी कार्यालयका कर्मचारीसम्म जाने गरेका छन्।’ 

चौलानी डिपार्टमेन्टल स्टोरलाई दिनभर खुला गर्न प्रहरी प्रशासनले पनि सघाउने गरेको उनले बताए। ‘प्रहरीका हाकिमदेखि सरकारी कार्यालयका कर्मचारी त्यही बस्छन्,’ उनले भने,‘उनीहरुकै संरक्षणमा चौलानी खुल्लै हुन्छ, तर साना पसललाई भने देखी सहँदैनन् ।’ केही साना खोका छाप्राले दैनिक उपभोग्य सामान भित्रीबाटोबाट बेच्न खोज्दा प्रहरीले दुःख दिने गरे पनि ठूला डिपारमेन्टल स्टोरलाई भने संरक्षण दिँदै आएको नाम नबताउने शर्तमा अर्का एक खुद्रा व्यवसायीले बताए।  

जिल्ला प्रशासन कार्यालय कैलालीले गत वैशाख २८ गते जारी गरेको सूचनामा तरकारी, फलपूmल तथा खाद्यबस्तुका पसल÷व्यवसायहरु हरेक मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको तीन दिन बिहान ६ बजदेखि ९ बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्ने उल्लेख छ। प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पालना नगरेमा प्रचलित कानुन बमोजिम दण्डनीय हुने उल्लेखसहितको सूचना जारी भएको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीका पसलहरु तोकिएको समायावधिमा मात्रै खोल्न पाउने निर्णय भएको छ, सोही अनुसार प्रहरीलाई परिचालन गरेका छौँ।’ 

उनले कहीँ कतै पसलहरु चोरबाटोबाट खुलाएको भएमा प्रहरीलाई कडाई गर्न निर्देशन दिने उनले बताए। ‘अगाडि–पछाडि कुनै ठाउँबाट पनि पसल व्यवसाय खुलाउन पाइँदैन,’ उनले भने,‘नियम सबैलाई बराबरी लाग्छ।’ यस विषयमा कुरा गर्न डिपर्टमेन्टल स्टोरका सञ्चालक मानसिंह साउँदलाई सम्पर्क गर्न खोज्दा उनले आफू प्रशासनको मिटिङमा रहेको भन्दै पन्छिए।
 

कमेन्ट लोड गर्नुस