‘धनगढीको मालिका अक्सिजन ग्याँस उद्योगको मनपरी अझै रोकिएन’
धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगले अक्सिजनको मूल्य आफूखुशी लिने गरेको आरोप लागेको छ।
कोभिडका बिरामीको संख्या बढेसँगै धनगढीमा रहेको एक मात्र अक्सिजन उद्योगले मनपरी आफूहरुबाट अक्सिजनको मूल्य लिन थालेको भन्दै कोभिड बिरामीका आफन्तहरुले गुनासो गरेका छन्। केही दिनदेखि ४७ लिटरको एउटा सिलिण्डर भरेवाफत एक हजार पाँच सय रुपैयाँ असुल्दै आएको उद्योगले आधा सिलिन्डरको पनि १ हजार ५ सय नै असुल्न थालेको बताइएको छ। उद्योगबाट अक्सिजन खरिद गरेकाहरुले भने प्रशासनकै मिलेमतोमा अक्सिजन उद्योगले आधा सिलिन्डर ग्याँस भरेर उपभोक्तालाई ठगी रहेको आरोप लगाएका छन्।
“सेती प्रादेशिक अस्पताललाई ४७ लिटर क्षमताको अक्सिजन सिलिन्डरको ४ सय मूल्य लिँदै आएको मालिका अक्सिजनले हामीबाट भने १ हजार ५ सय लिने गरेको छ। आफूखुशी मूल्य बढाएको उद्योगले सिलिन्डरमा आधाभन्दा कम ग्याँस भरेर ठगी गरिरहेको छ।” मालिका अक्सिजन उद्योगबाट १ हजार ५ सय तिरेर आधा सिलिन्डर ग्याँस लिएको बताउने एकजना बिरामीका आफन्तले दिनेशखबरलाई भने।
मालिका अक्सिजन उद्योगले तोकिएको बजार मूल्यभन्दा बढी रकम लिएको स–प्रमाण उजुरी आए प्रचलित कानुन अनुसार कारबाही गरिने प्रशासनले बताउने गरेको छ। तर अहिले पनि उद्योगमा प्रहरी छन् तिनले पनि कुनै निगरानी नगरेको सर्वसाधारणले आरोप लगाएका छन्।
“उद्योेगमा प्रहरी पनि छन् तर तिनीहरको सामुन्ने नै प्रति सिलिन्डर उद्योगले १५ सय रुपैयाँ असुल्ने गरेको छ। प्रहरी प्रशासनको पनि मिलेमतो छ जस्तो लागेको छ।” अक्सिजन उद्योगबाट १ हजार ५ सयमा आधा सिलिन्डर अक्सिजन दिएको आरोप लगाउने अर्का बिरामीका आफन्तले बताए। उद्योगले मनपरी गरिरहेको उनको आरोप छ।
मालिका अक्सिजन उद्योगमा प्रहरीले निगरानी गरिरहेको भएपनि बढी मूल्य लिने गरेको बारे प्रशासनमा कुनै आधिकारिक उजुरी नआएको अधिकारीहरुले बताउने गरेका छन्। “बढी मूल्यमा अक्सिजन सिलिन्डर बिक्री गर्यो भन्नेलाई उजुरी हाल्न प्रमाण सहित हामी कहाँ पठाउन् हामी आवश्यक कारबाही गर्ने छौँ।” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले भने।
मालिका अक्सिजन उद्योगले भने कोभिड महामारीमा कारण उद्योग चौबिसै घण्टा चलाउनु पर्दा विजुली, जनशक्ति र मर्मत खर्च समेत बढेकोले अक्सिजनको मूल्य बढाउनु परेको दाबी गरेको छ।
“कोभिड पूर्व दैनिक ८ घण्टा मात्रै चल्ने उद्योग अहिले २४ घण्टा नै चलाउँदा उपकरणमा आउने खराबी र बिजुलीको महसुल दोब्बर तिर्नुपर्ने हुँदा बाध्य भएर मूल्य बढाउनु परेको भएपनि आजैदेखि लागत मूल्याङ्नका आधारमा मूल्य घटाउने तयारी भएको छ। तर आधा भरेर भने कसैलाई पनि अक्सिजन दिएका छैनौँ। बरु उद्योगमा आउनेहरुले मेरो मान्छे अस्पतालमा अक्सिजन नपाएर छट्पटिदै छ। आधा धएपनि लैजान्छौँ भन्छन्। हामीले आधा मात्रै बेज्ने काम गरेका छैनौँ उद्योगका व्यवस्थापक नरेश शाहले दाबी गरे।
सुदूरपश्चिम प्रदेशका सरकारी र नीजि अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रियाको थालनी भएसँगै केही समयपछि भने प्रदेशमा अक्सिजनको सहज आपूर्ति हुने भएको छ। अहिले भने बिरामीहरुलाई अक्सिजनको सहज र सस्तो आपूर्ति मिलाउन सरकारी निकायको ध्यान जान जरुरी छ।