महामारीकाबीच सुदूरपश्चिमका पहाडी जिल्लामा भाइरल ज्वरोको प्रकोप
धनगढीः यतिबेला कोरोना महामारीले सुदूरपश्चिम प्रदेशका दुर्गम बस्तीहरुमा समेत सन्त्रास फैलाएको छ।
केही दिनदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँ बस्तीमा कोभिडको जस्तै लक्षणसहित बिरामी हुनेको संख्या बढेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। खासगरी पहाडी जिल्लाका ग्रामीण भेगमा भाइरल ज्वरोको प्रकोप समेत फैलिएको हो। तर ग्रामीण भेगमा एन्टिजेन किटको अभाव भएकोले बिरामी परेका सबैको स्वास्थ्य परीक्षण गर्न समस्या भएको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ज्वरो मात्रै नभइ कोभिड संक्रमण भुसको आगो झै भित्रभित्रै सल्किरहेको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु मध्ये सबैभन्दा उच्च संक्रमण दर अछाम जिल्लामा रहेको बताइएको छ।
परीक्षण गर्दा ५० प्रतिशतमा कोरोना पुस्टि
अछाम जिल्लाका सबै स्थानीय तहमा कोभिडको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ। जिल्लामा कुल परीक्षणको ५१ प्रतिशतमा कोभिड पुस्टि हुन थालेको छ। तर स्वाब परीक्षण गर्न भने स्थानीयले रुचि नदेखाउँदा थप समस्या भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाले दिनेशखबरसँग भने।
“अछाममा गाउँभर बिरामी छन्। १० जनामा परीक्षण गर्दा ८ जनामा कोरोना पुस्टि भइरहेको छ। जिल्लाका सबै स्थानीय तहमा बिरामी छन्। अस्तिसम्म ५१ प्रतिशतमा कोभिड पुस्टि भएको थियो भने अहिले झन बढेको छ। कतिपय ठाउँमा परीक्षण गर्न नमान्दा पनि समस्या भएको छ। जिल्लामा परीक्षण किटको पनि अभाव रहेकाो छ” स्वास्थ्य कार्याल प्रमुख ढुङ्गानाले भने।
कोरोना माहामारीले विकराल रुप लिएको अवस्थामा सुदूरपश्चिमको हिमाली जिल्ला बाजुराका दुर्गम बस्तीहरुमा समेत कोभिडसँग मिल्ने लक्षणसहित ज्वरोको प्रकोप बढेको छ।
“खासगरी ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता समस्या भएका बिरामी जिल्लाको हिमाली गाउँपालिका, जगन्नाथ र स्वामीकार्तिक गाउँपालिकामा बढेको छ। अन्य स्थानीय तहमा पनि बिरामी बढेको भन्ने सूचना आएको छ। परीक्षणका लागि एन्टिजेन किट नहुँदा समस्या भएको छ।” स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने।
अर्को हिमाली जिल्ला दार्चुलामा पनि कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेको स्वास्थ्य अधिकारीले बताएका छन्।
“जिल्लाका सबै स्थानीय तहमा बिरामी देखिएका तर एन्टिजेन किट अभावले गर्दा कडा लक्षण भएकाहरुमा मात्रै परीक्षण गर्दा लगभग ४० प्रतिशतमा कोभिड पुस्टि भइरहेको छ” स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले भने।
डोटी जिल्लाको शिखर नगरपालिका र बोगटान गाउँपालिकामा कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालयले डोटीले जनाएको छ। बिरामीको संख्या बढेको ती स्थानीय तहमा औषधि सहितको टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धव ठगुन्नाले बताए।
सुदूरपश्चिम प्रदेशमा कोभिड माहामारीकै बीचमा धेरै नेपाली भारतबाट घर फर्किएका थिए। भारतबाट घर फर्किदा सीमानामा सबैको अनिवार्य स्वास्थ्य परीक्षण गर्न नसक्दा गाउँ गाउँसम्म कोभिड संक्रण फैलिएको अनुमान गरिएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ र डडेल्धुराका ग्रामीण बस्तीहरुमा समेत कोभिड फैलिइरहेको भन्दै चिन्ता गरिएको छ।
डाक्टरको सल्लाह
चिकित्सकहरुले कोरोना महामारीकै बीच स्वास्थ्य सम्बन्धी त्यस्ता समस्याका लक्षण देखिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने औल्याइएका छन्। सबै भाइरल ज्वरो कोरोना नभएपनि त्यस्ता समस्या देखिएपछि रोगले जटिल अवस्था सिर्जना गर्नुभन्दा पहिले नै सावधान अप्नाउन चिकित्सकहरुले सुझाव समेत दिएका हुन्।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निशान भट्टराईले हाल मौसम परिवर्तनका कारणले पनि भाइरल ज्वरोको समस्या दिएको तर भाइरलको लक्षण पनि कोरोनाकै लक्षणसँग मेल खाने भएकोले पीसीआर परीक्षण गर्नुपर्ने बताउँछन्।
समयमा परीक्षण नगराउँदा र त्यतिकै औषधी सेवन गर्दा झन जटिल समस्या सिर्जना हुन सक्ने बताउँदै उनले परीक्षण र चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने सल्लाह दिए।
उनले अगाडि थपे, “यो विषम परिस्थितिमा सामान्य स्वास्थ्य समस्या भन्दै रोग लुकाउनु भनेको मृत्युलाई नै आमन्त्रण गर्नु जस्तै हो। स्वास्थ्य समस्या देखिएपछि समयमा उचित स्थानमा गइ रोग पत्ता लगाएर समाधानको बाटो खोज्नु उत्तम विकल्प हो।”
घरेलु उपचार
डाक्टर भट्टराईले सामान्य लक्षण देखिएमा केही घरेलु उपचार पद्धतिबाट समेत लाभ लिन सकिने बताउँछन्। सामान्य लक्षण देखिएपछि सर्वप्रथम सतर्क रहेर बस्ने, होम आइसोलेसनमा बस्ने, पानी प्रशस्त मात्रामा मनतातो पानी खाने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने, तातोपानीको वाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिसाएर बिहान, दिउँसो तथा साँझदिनको तीन पटक सेवन गर्ने जस्ता घरेलु उपचार गर्न सकिन्छ।
हल्का व्यायम गर्ने, चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने औल्याइएको छ। ज्वरो र जीउ दुखाइ कम गर्न सिटामोलजस्ता औषधि उपयुक्त हुन्छ।