सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना विरुद्ध खोपको लागि लगत संकलन सुरु, सर्वसाधारणलाई सहभागी हुन आह्वान

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कोरोना विरुद्धको खोप लिदै।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कोरोना विरुद्धको खोप लिदै।
२०७८ जेठ ७, १२:३४ नारायण अवस्थी

धनगढीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको पहिलो खोपको लागि स्वेच्छिक आवेदन फाराम भर्न आह्वान गरेको छ। 

१८ वर्षदेखि ५५ वर्षसम्मका नागरिकलाई खोपको लागि स्वेच्छिक आवेदन फाराम भर्न आह्वान गरेपछि सुदूरपश्चिम प्रदेशमा पनि तयारी अगाडि बढाइएकाे छ।

प्रदेशका जिल्लास्थित स्वास्थ्य कार्यालयहरुलाई पनि जेठ मसान्तभित्र जिल्लाका सबै पालिकाबाट फारम भर्न लगाइ सो को तथ्याङ्क स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ। खोपका लागि फारम भर्न १८ वर्ष पूरा भएको हुनुपर्छ भने इन्टरनेट सुविधा नभएका स्थानमा सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले खोप लगाउन इच्छुक व्यक्तिहरुको लगत संकलन गरी फारम भर्नुपर्ने छ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयले बैशाख ३० गते कोभिड १९ विरुद्धको खोप लगाउन सर्वसाधारणले स्वेच्छिक आवेदन फारम भर्नुपर्ने निर्णय गरेको हो। जस अनुसार देशभरका १८ देखि ५५ वर्ष उमेर समूहका खोप लगाउन इच्छुक नागरिकले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गरेको भ्याक्सिन डट एमओएचपी डट जीओभी डट एनपीमा लगइन गरी आवेदन भर्न सकिने स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए।

सरकारले गरेको परिपत्र अनुसार सुदूरपश्चि प्रदेशमा स्वास्थ्य कार्यालयहरुले स्थानीय तहमार्फत खोप आवेदन फारम भर्न सार्वजनिक सूचना गरिसकेको बताएका छन्। जेठमसान्त अगावै जिल्लाका सम्पूर्ण खोप लगाउन चाहने जनसंख्याको विवरण संकलन भइसक्ने गरी काम भइरहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कञ्चनपुर जिल्लाका स्वास्थ्य संस्था र पालिकामार्फत लागत संकलनको काम भइरहेको बताए।

सरकारले कोभिड १९ विरुद्धको खोप लगाउन अनलाइनमार्फत स्वेच्छिक आवेदन भर्न सूचना गरेतापनि सबैका लागि भने अनलाइन फारम भर्न सहज नहुने भन्दै दुर्गम बस्तीका नागरिकले चिन्ता व्यक्त गरेका छन्। तर इन्टरनेटको पहुँच नभएका ठाउँमा स्थानीय पालिकाको स्वास्थ्य शाखामार्फत लगत संकलन गरी सबैको फारम भर्ने व्यवस्था मिलाइएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका सूचना अधिकारी ओम जोशीले बताए।

कोभिड १९ हुनबाट बच्न खोप लगाउनु सबैभन्दा सुरक्षित र भरपर्दो भएको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताउने गरेका छन्। सुदूरपश्चिमका सम्पूर्ण नागरिकहरुलाई खोप लगाउन अभियान थाल्नुपर्ने आवाज उठी रहेको बेला सरकारले भने खोपका लागि आवेदन फारम भर्न सर्वसाधारणलाई आह्वान गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस