२४ वर्षदेखि दाहसंस्कार गर्न निःशुल्क दाउरा दिँदैः कञ्चनपुरका पवन सिंह
कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ सुडाका काठ व्यवसायी पवन सिंहले दाहसंस्कार गर्न निःशुल्क दाउरा दिन थालेको २४ वर्ष भएको छ।
२०५४ मा बेदकोट नगरपालिका वडा नम्बर ७, सुडामा सिंहले रितुल सःमिल सञ्चालन गरेदेखि पैसा हुने र नहुने सबैलाई शव दाह गर्न निःशुल्क दाउरा प्रदान गर्दै आएका छन्। उनले अहिलेसम्म आफ्नो सःमिलबाट सयौँ शव जलाउनका लागि निःशुल्क दाउरा उपलब्ध गराएको बताएका छन्।
“सुरुवाती दिनहरुमा आर्यघाटसम्म शव लौजान आफूसँग भएको ट्रक समेत दिने गरेको थिए। तर अहिले गाडी भने माग्न कोहि आउँदैनन् तर दाउराको भने कसैबाट पैसा लिने गरेको छैन,” सिंहले भने।
सिंहको सुडामा रहेको रितुल सःमिलमा आउने सबैले शव दाहका लागि निःशुल्क दाउरा पाउने गरेका छन्। उनले २०७२ सालको भूकम्पको बेला काठमाण्डौँमा समेत निःशुल्क दाउरा वितरण गरेका थिए। त्यो बेला स्थानीय काठ व्यवसायी धनानन्द लेखक र हरि खनालबाट समेत दाउरा लिएर ६० हजार गाडी भाडा तिरेर काठमाण्डाैँमा निःशुल्क वितरण गरेका थिए।पवन सिंहले सुरुवाती दिनमा दाउरा बेच्ने गरेको भएपनि २ जना व्यक्तिले दाहसंस्कार गर्न लगेको दाउराकोपैसा तिर्न नसकेको घटनाले आफूलाई दाहसंस्कार गर्न दाउरा निःशुल्क वितरण गर्न प्रेरित गरेको बताएका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका, वेदकोट र शुक्लाफँटा नगरपालिकाका स्थानीयले दाहसंस्कार गर्न दाउरा लग्ने गरेको बताउने सिंहले कुनै दिन त १० जनालाई समेत दाउरा दिनु परेको बताएका छन्।
आफूसँग जे छ त्यो नै अरुलाई पनि दिन सकिन्छ भन्ने विश्वास गर्ने सिंहले आफूले दाउराको सहयोग गरेर सानो सेवा गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। आत्माबाट नै पुर्खालाई सम्झेर सहयोग गर्ने गरेको बताउँने सिंहले स्थानीयबाट समेत माया पाएको बताएका छन्।
आफूले सदैव अन्तिम संस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउने भएकोले अहिलेसम्म कसैले पनि दाउरा नपाएर रित्तो फर्कन नपरेको उनले बताए।