सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अक्सिजन नपाएर ज्यान गुमाउँदै कोरोना संक्रमित, प्लान्ट जोड्ने योजना अलपत्र

२०७८ वैशाख २६, ०६:४६ कमल सावद

धनगढी: गत हप्ता उपचारका लागि भारतको दिल्ली गएका बैतडीका लोकेन्द्र जोशीलाई धनगढी फर्किएपछि कोरोना भाइरसको संक्रमण पुस्टि भयो। जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका प्रमुख एवंम् वरिष्ठ कबिराज(निरीक्षक) जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार थालियो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार सुरु भयो। 

तर सेतीको आईसीयूमा समेत अक्सिजनको अभाव थियो। उनका आफन्तहरुले शुक्रबार दिनभरी अक्सिजन खोजे। धनगढीको मालिका अक्सिजन उद्य्रोगमा ६/७ पटक उनीहरुले धाए।  उद्योगले शुक्रबार राति सानो सिलिण्डर ग्याँस दियो। तर शनिबार बिहान ४५ वर्षीय जोशीको अक्सिजन अभावकै कारण मृत्यु भएको आफन्तहरु बताउँछन्। 

धनगढी लगायत प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले दैनिक ज्यान गुमाउनु परिरहेको छ। तर सुदूरपश्चिम प्रदेश सरकारको जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने योजनाहरु कार्यान्वयनमा ढिलाइ भएको छ। 

जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आर्दश लिम्बुले प्रदेश सरकारको बजेटमा अक्सिजन प्लान्ट जडानका लागि बोलपत्र खोल्ने तयारीमा रहेको बताए। उनले भने, “हामीले आपूर्तिकर्तासंग छलफ गरिरहेका छौं। ४÷५ वटा सम्पर्कमा आएका छन्। उहाँहरुले आपूर्ति गर्न सकिन्छ भनेका छन्। केहि दिनमा बोलपत्रको सूचना सार्वजनिक गर्छौ।”

सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुले कोरोना संक्रमितहरुका लागि अति आवश्यक मानिएको अक्सिजनको प्लान्ट जडानमा ढिलाई गरेका छन्। सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा प्रदेश सरकारले अक्सिजन प्लान्ट जडानका लागि बजेट सुनिश्चिताको पत्र पठाएपनि जडानमा ढिलाइ गरिएको हो। 

जिल्ला अस्पताल डोटीका डाक्टर कृष्ण जोशीले नयाँ अक्सिजन प्लान्ट जडानका लागि छलफल गर्नै बाँकी रहेको बताए। उनले भने, “कोरोना संक्रमितको उपचारमा हामी छांै। नयाँ प्लान्ट जडानका विषयमा छलफल समेत गर्न पाएका छैनौ। अबको केहि दिनमा हुन्छ।”

सुदूरपश्चिम प्रदेश सरकारले पत्र पठाएको झण्डै एक महिना हुँदापनि अक्सिजन प्लान्ट जडानका लागि जिल्ला अस्पतालहरुले प्रक्रिया समेत सुरु नगरेका हुन्। प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाउँदैछन्। 

सेती प्रादेशिक अस्पतालसंगै प्रत्येक जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने योजना भएपनि ढिलाइ भएको छ। बैशाख ६ गते प्रत्येक जिल्ला अस्पतालहरुलाई ८० लाखका दरले रकम सुनिश्चिताको पत्र समेत पठाइएको छ। 
तर जिल्ला अस्पतालहरुले अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया थालेका छैनन्। अक्सिजन प्लान्ट जडानका लागि आपूर्तिकताको खोजी थालिएको जिल्ला अस्पताल अछामका प्रमुख अच्युुत भारध्वाजले बताए। 

आफ्नै अक्सिजन प्लान्ट भएका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल तथा धनगढीका निजी अस्पतालहरु र अन्य जिल्ला अस्पतालहरुमा अक्सिजनको अभावले संक्रमितहरुले ज्यान गुमाउन बाध्य छन्। स्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अक्सिजन अनिवार्य चाहिने भएपनि जिल्ला अस्पतालहरुले जडानमा ढिलाइ गरेका हुन्। 

जिल्ला अस्पतालहरुलाई अक्सिजन प्लान्ट जडानका लागि ८० लाखका दरले रकम दिएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि भने १ करोड १६ लाख बजेट दिएको छ। 

सेती प्रादेशिक अस्पतालले ९० हजार किलोग्राम अक्सिजन जम्मा गर्न सकिने सिलिण्डर खरिदका बोलपत्र आह्वान गरेको छ। ७ दिनको बोलपत्र २३ गते सार्वजनिक गरिएको सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। उनले भने, “जिल्ला अस्पतालहरुलाइ प्लान्ट जडानका लागि बजेट पठाएका छौ। चाँडो खरिद गर्नुस् भनेका छौं। सेतीमा पनि बजेट पठाएका छौ। सेतीमा सूचना समेत सार्वजनिक गरिएको होला।”

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ। ९० हजार किलोग्रामको सिलिण्डर खरिदपछि अभाव नहुने अपेक्षा गरिएको छ। तर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको स्तरवृद्धिको योजना भने प्रदेश सरकारसँग छैन्। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस